News 24 Television
रेमिट्यान्सले चलेको देशमा प्रधानमन्त्रीको झर्कोलाग्दो विकास भाषण

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै अब देश विकासमा फड्को मार्ने दाबी गर्दै आएका केपी शर्मा ओलीले संसदमा होस् कि बाहिर विकास भाषण दिन छाडेका छैनन् । तर दुई तिहाई बहुमतको सरकारले ६ महिनामा कुनै उल्लेख्य कार्य भने गर्न सकेको देखिन्न । गत शुक्रबार ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नो सरकार आएपछि विकास कार्यमा ब्रेक थु्र मात्र नभएर ब्रेक लगाएर राखिएका काम समेत सम्पन्न भएको दाबी गरे । यद्यपि उनले विकासमा ब्रेक थ्रु भएको भनिएका आयोजनाहरु उनी प्रधानमन्त्री बनेपछि रातारात भएका हैनन्, विगतदेखिकै आयोजना हुन् ।

ओलीले विकास कार्यमा ब्रेक थ्रु भएको भनिएका आयोजना थिए— काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङको ब्रेक थ्रु, चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्गको ब्रेक–थ्रु । यस्तै बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम आफ्नो सरकार आउदाका बखत अलपत्र रहेको तर आफू प्रधानमन्त्री बनेपछि द्रुत गतिमा काम भइरहेको उनको जिकिर थियो । 

कुनै काम सम्पन्न ओलीको पालामा भयो भन्दैमा उनले विकासमा चमत्कार गरेको भन्न सकिन्न । प्रधानमन्त्रीको विकास भाषणको खण्डन तत्कालै गरे– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले । अहिले खाडी मुलुक र विकसित देशमा गएमा गएका युवाबाट आउने रेमिट्यान्सले संसद र सरकार चलिरहेको भन्दै उनले प्रधानमन्त्रीले विकासको भाषण गरेको देख्दा अचम्म माने । राजीनितिक दलहरु आफ्ना घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको र युवाहरु पलायन हुन बाध्य भएको उनको भनाइ थियो । दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै केसीले प्रधानमन्त्रीलाई प्रश्न गरे । मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको, भएका उद्योग तथा कलकारखाना पनि बन्द भएको र शिक्षा प्रणालीमा सुधार नगरिएका कारण युवा पलायन बढिरहेको उनको भनाइ थियो । जनतामा बढ्दो घृणालाई कम गर्न नसके अहिलेको व्यवस्था नै नरहने समेत उनले बताए । 

प्रधानमन्त्री ओलीले सोमबार पनि गरिबीलाई निमिट्यान्न पार्दै नेपालमा विकास र समृद्धि ल्याउने भाषण गरे । नेपाल समृद्ध बन्ने आधार धेरै रहेको भन्दै उनले गौरवपूर्ण खोज–अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरुको देश भएकाले स्वाभिमानी देश बनेको जिकिर गरे । यहाँ उर्वर भूमि र भौगोलिक विकासको सम्भावना रहेको भन्दै नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको बताए । कलंकको रुपमा रहेको नेपालको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको र यसका लागि देशमा रहेका करिब १ करोड युवाले योगदान गर्न सक्ने बताए । उनले २२ लाख नेपाली युवाहरु विदेश गएर अरुको विकास गरिरहेको भन्दै आफ्नो देश विकास गर्न नसक्ने अवस्था नरहेको बताए ।

एक हिसाबले प्रधानमन्त्रीले भनेको कुरा ठीक हो । युवाहरु विदेशमा गएर अरुका लागि विकास गरिरहेका छन्, आफ्नो गरिबी बेचेर । तर यस्तो भाषण गर्दा लाज लाग्नुपर्ने यिनै प्रधानमन्त्री र नेताहरुलाई हैन ? कसका कारण देश विकास हुन सकेको छैन ? कसका कारण गरिब मुलुकको कलंक भिर्दै युवाहरु खाडी मुलुक र विकसित देशमा श्रम बेच्न गइरहेका छन् ? विकास गर्छौं भनेर पटकपटक सत्ता ओगटेर बस्नेहरुले केवल भाषण मात्रै गर्न जाने, विकास कार्य गर्न र युवालाई देशमै रोजगारी दिन जानेनन् । अब त प्रधानमन्त्री र मन्त्रीहरुका विकास भाषण सुन्दा युवाहरुलाई झर्को मात्र लाग्छ ।

यसैबीच, विपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले काँग्र्रेस, एमाले र माओवादीका नेताहरुबाट देश बन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु रहेको बताएका छन् । मुलुक करिब साढे तीन दशकदेखि काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भए पनि कुनै विकास हुन नसकेको यथार्थ उनले स्मरण गराए । 

विपक्षमा हुँदा सरकार र सत्तापक्षको आलोचना गर्नुलाई अन्यथा मानिँदैन । तर लिङदेनले भनेजस्तै २०६२–०६३ को जनक्रान्ति र परिवर्तनपछि, २०७२ मा संविधान बनेपछि पनि काँग्रेस–एमाले–माओवादीकै चङ्गुलमा देश फसेको छ । विकास दिन्छौँ भनेर पटकपटक सत्ताको दूषित खेल खेल्ने तर जनतालाई राहत दिन नसक्ने नेताहरुले विकास भाषण गरेको झर्कोलाग्दो नै सुनिन्छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update