News 24 Television
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको ब्याजदर घट्दा महंगी भने उकालो लागेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरण अनुसार साढे ७ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ४.१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । 

चालु आर्थिक वर्षको यो अवधिमा २ लाख ३० हजार ४३९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ६२ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ६ हजार ३९० जनाले श्रम स्वीकृति र १ लाख ३३ हजार ९४० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

चालु आर्थिक वर्षको ६ महिनामा विदेशी मुद्रा सञ्चिती पनि बढेको छ । यो अवधिमा २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले विदेशी सञ्चिती बढेको हो । अघिल्लो ६ महिनाको तुलनामा पुससम्म विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढेको छ । 

योसँगै पुस मसान्तसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२.१ प्रतिशतले बढेर २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थसँग रहेको विदेशी विनिमय सञ्चिति भने २७ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । 

घट्यो ब्याजदर 

विदेशी मुद्राको सञ्चिती बढेसँगै बैंकको ब्याजदर भने घटेको तथ्यांक सार्वजनिक गरिएको छ । २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको यो अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत रहेको थियो । 

बजार भाउ उकालो 

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिती बढ्दा बजार भाउ भने उकालो लागेको छ । गत आर्थिक वर्षको यो अवधिमा ५.२६ प्रतिशत बजार भाउ अर्थात उपभोक्ता मुद्रास्फीति रहेकोमा चालु आर्थिक वर्षको अवधिमा ५.४१ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिना नबित्दै बजार भाउ निकै उकालो लागेको थियो । 

दशैंतिहारको समयमा निकै उकालो लागेको बजार भाउ केही महिनायता निरन्तर बढिरहेको छ ।  नेपाल राष्ट्र र्बैकको पछिल्लो तथ्याङलाई केलाउँदा मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको छ । युवाको बैदेशिक रोजगारमा पलायन हुने क्रम बढेको छ । आन्तरिक उत्पादन बढ्न नसक्दा बजार भाउँ भने अघिल्लो बर्षको भन्दा बढेको छ । र्बैक तथा वित्तीय संस्थाको ब्याजदर बढे पनि बैकहरु कर्जा प्रवाह हुन नसक्दा तरलता लगानी योग्य रकम भने बढ्दो अवस्थामा रहेको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update