News 24 Television
टी २० मा नेपाल लगातार पराजित, खेलमा कसले गरे के ?

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी ट्वान्टी आई क्रिकेट श्रृंखलामा लगातार हार बेहोरी रहेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएका खेलमा समेत पराजित भएसँगै नेपालले हारको यात्रालाई निरन्तरता दिएको देखिएको हो । आइतबारको खेलमा नेदरल्याण्ड्स १५  रनले विजयी भयो । 

जारी त्रिकोणात्मक टी ट्वान्टी आई क्रिकेट श्रृंखलामा नेपाल आइतबार समेत पराजित भएको छ । ब्याटिङमा संघर्ष गरेको नेपालले घरेलु मैदान कीर्तिपूरमा आईतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित हुनु प¥यो । योसँगै जारी श्रृंखलामा नेपालको यो लगातार तेस्रो हार हो । डच टोलीसँग नै नेपालको यो दोस्रो हार  हो । 

यसअघि पहिलो खेलमा पनि नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । शनिवार थाइल्याण्डसँग पनि ब्याटिङ चल्न नसक्दा नेपालले हार सामना गरेको थियो । तेस्रो खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन । नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको   थियो । 

जवाफी ब्याटिङ गरेको नेपालले पूरै ओभर खेले पनि आठ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । पावरप्लेमा ३१ रन जोड्दा नेपालले एक विकेट मात्र गुमाएको थियो । ओपनर ममता चौधरी १३ बलमा ७ रन बनाएर आउट भइन् । तर अर्की ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन जोड्दै इनिङ अगाडि बढाइन् । 

शिर्ष क्रमका ब्याटरले धैर्यपूर्वक ब्याटिङ गरेका थिए । १६.३ ओभरमा नेपाल १००÷३ को अवस्थामा  थियो । नेपाललाई जितका लागि २४ बलमा ४१ रन आवश्यक हुँदा सात विकेट हातमा थियो । यद्यपि लगातार विकेट गुमाएको नेपालले थप २५ रन मात्र जोड्न सक्यो । 

कप्तान इन्दु बर्माको ३० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । ३२ बल खेलेकी उनको इनिङमा एक छक्का थियो । युवा ब्याटर पूजा महतोले १८ रन, कविता जोशीले १४ रन र सीता रानामगर १० रनमा नटआउट रहिन् । थप कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पूर्वकप्तान रुबिना क्षेत्री र बिन्दु रावलले पनि खाता नै खोल्न सकेनन् । डच टोलीको बलिङमा आइरिस ज्विलिङ, क्यारोलिन डी लाङ्गे र हिथर सिगर्सले समान दुई विकेट लिए । इभा लिन्च र इसाबेल भान डेरको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो । शिर्ष क्रमका ब्याटरले राम्रो साथ दिँदा डच टोलीले राम्रो योगफल बनाएको हो । पावर प्लेमा दुई विकेट गुमाएको डच टोलीले ४१ रन जोड्दै राम्रो शुरुवात पायो । नेदरल्याण्ड्सकी कप्तान बबेटे डी लिडेले ४१ रनको योगदान दिइन् । उनी १८ औं ओभरमा सीता रानागरद्वारा आउट भएकी हुन् । 

३८ बल खेलेकी उनले चार चौका र एक छक्का हिर्काइन् । ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्कीले समान २१ रनको योगदान दिइन् । हिथरले २६ रन जोडिन् । 

नेपालकी बलर सीता रानामगरले १८ औं र २०औं ओभरमा गरेर पाँच विकेट लिँदै पाहुना टोलीलाई ठूलो इनिङबाट रोकेकी थिइन् । सीताले तीन ओभरमा पाँच विकेट लिँदा १२ रन मात्र दिइन् । मनीषा उपाध्यायले चार ओभरमा दुई विकेट लिए पनि महँगो साबित भइन । कविता जोशी र इन्दु बर्माको नाममा समान एक विकेट रह्यो । अब नेपालले श्रृंखलाको चौथो खेल मंगलवार थाइल्याण्डसँग खेल्नेछ । त्रिकोणात्मक श्रृंखलमा तीन राष्ट्रले एकआपसमा समान तीन खेल खेल्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update