
काठमाडौं । अपराध नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रहरीले निष्पक्ष ढंगले काम गर्ने हो भने समाजमा सुशासन र सुरक्षा कायम गर्न कुनै समस्या हुँदैन । प्रहरीले साँच्चिकै इमान्दारीपूर्वक काम गर्ने हो भने जनता र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर हुन्छ । जिल्ला प्रहरी कार्यालय दोलखाले यस आर्थिक वर्षमा अपराध नियन्त्रणमा खेलेको भूमिका प्रशंसनीय बनेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १४५ जना फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएको छ । ती प्रतिवादीहरुलाई ३६ वर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागि कारागार चलान गरिएको छ । उनीहरूबाट ७४ लाख ७५ हजार १३३ रुपैया जरिवाना पनि असुल गरिएको छ ।
सो कार्यालयले अनुसन्धानतर्फ असल अभ्यास दर्शाउँदै बहुक्षेत्रीय प्रयोग पनि गरेको छ । केही समयअघि जापानमा घटेको घटनाको कसुरमा नेपालमा जबरजस्ती करणी तथा भ्रुणहत्या शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।
यसैगरी सहकारीको रकम सहकारीको प्रबन्धक अध्यक्ष कोषाध्यक्ष र कर्मचारीको मिलोमतोमा सरकारी रकम चोरी भएको कपोल्कल्पित घटना बनाइ हिनामिना गरिएको ३२ लाख ८७ हजार २७६ रुपैयाँको अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याएको थियो । यस्ता विभिन्न घटनामा प्रहरीका सक्रियताको स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।
दोलखामा चालु आर्थिक वर्षमा कर्तव्य ज्यानको सबै ६ वटा मुद्दा र जबरजस्ती करणीका २० वटा मुद्दामा १९ वटा फस्र्यौट भएको छ । त्यस्तै, लागू औषध नियन्त्रणमा पनि जिल्ला प्रहरीको सक्रिय भूमिका देखिएको छ । दोलखा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित जिल्ला हो ।
यस्ता प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा पनि दोलखा प्रहरीको भूमिका प्रशंसनीय मानिएको छ । गत असोज महिनामा आएको पहिरोमा पुरिएका २ बर्षीय बालकको उद्धार गरिएको घटनाले राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा निकै चर्चा कमाएको थियो ।
अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी र स्थानीय सरकारबीचको समन्वय पनि राम्रो देखिन्छ । भिमेश्वर नगरपालिकासँग समन्वयमा प्रहरीले चरिकोट बजारमा सीसी क्यामेराहरु जडान गरेको छ । यस्तै, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायसँग मिलेर विभिन्न सचेतनामूलक तथा सहभागितामूलक कार्यहरुलाई प्राथमिकतामा राखेर कार्यहरु गर्दै आएको छ ।
भनिन्छ, कुनै पनि नागरिक विना वर्दीको प्रहरी हुन् । शान्ति सुरक्षा कायम गर्ने, अमनचयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो । तर आम नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले नागरिकलाई बर्दिबिनाको प्रहरी भनिएको हो ।
प्रहरी र यसका नेतृत्वले नागरिकसँग सहकार्य गरेर कार्य गरे शान्तिसुरक्षा कायम गर्नमा सफल भइन्छ भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय दोलखाको नेतृत्वले देखाएको छ ।