
काठमाडौं । परम्परागत बाँसबाट बनाइने र विशेष गरि गाउँघरमा दैनिक रुपमा प्रयोगमा आउने लोकप्रिय सामग्री हो नाङलो । बढ्दो आधुनिकताले जीवनशैली फेरिँदै गएपनि हरेक घर, भान्छाहरुमा नाङलोको लोकप्रियता उत्तिकै छ ।
परम्परागत शैलीको नाङलो बुन्ने र बेच्ने पेशा ओखलढुंगाको चुप्लुबासीका लागि आम्दानीको विकल्प बनेको छ । परम्परादेखि चल्दै आएको यो पेशाबाट सिंगो गाउँ आत्मनिर्भर बन्दै आएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ स्थित चुप्लु गाउँ विशेष गरि बाँसको नाङलो उत्पादन गर्ने गाउँको रुपमा परिचित छ । छरिएको बस्ती र राई समुदायको बाहुल्यता रहेको यस गाउँमा ४६ घरपरिवारको बसोबास छ । मुख्य पेशा खेती किसानी भएपनि फुर्सदको समयमा यहाँका बासिन्दाले नाङलो बुन्ने गर्छन् ।
केहीले नाङलो बुन्ने पेशालाई ब्यावसायिक नै बनाएका छन् । पुस्तौँदखि चल्दै आएको यहि पेशाबाट उनिहरुको गुजारा चलेको छ ।
नाङलो बनाउनका लागि मोली र चोया गरि २ प्रकारका बाँस आवश्यकता पर्छ । विगतमा गाउँबाट धेरै टाढा–टाढासम्म पुगेर बाँस किनेर ल्याउनुपथ्र्यो । तर अहिले स्थानीय आफैले बाँस खेती गरेका छन् । नाङलो बनाउनका लागि बाँस काट्ने, चोया तथा भाटा बनाउने, भिजाउने, सुकाउनेजस्ता थुप्रै प्रक्रिया पार गर्नुपर्छ । यसरी बनाईएको यहाँको नाङलो ओखलढुंगामा मात्र होइन, जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ ।
नाङ्लो बुन्न खासै अप्ठ्यारो पनि छैन । बाँसको चोयाबाट बनेको नाङलो टिकाउ हुने उपभोक्ताहरु बताउँछन । यहाँ बनाईएको नाङलो स्थानीय बजारमा प्रतिगोटा २ सय ८० देखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
बाँसको नाङलो चुप्लुका राई समुदायको पुख्र्यौली पेशा र आम्दानीको गतिलो स्रोत हो । नाङलोको माग जिल्ला भित्र र बाहिरबाट उत्तिकै माग भएकाले उद्योगकै रुपमा अगाडी बढाएर यसको विकास, बिस्तार र संरक्षणमा जोड दिन आवश्यक छ ।