News 24 Television
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा !

काठमाडौं । माओवादी केन्द्रभित्र विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचनको क्रममा देखिएको गुटगत प्रणालीले नयाँ बहस शुरु भएका छन् । विद्यार्थीको निर्वाचनबाटै जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको चुनौतिले थप प्रश्नहरु मुखारित बन्न पुगेका छन् । 

विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचन पश्चात नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको शक्ति नापतौलको बहस चर्चामा रहेको छ । अखिल क्रान्तिकारीको नेतृत्व चयनमा गुटगत प्रणालीको आधारमा निर्वाचन भयो । त्यसमा प्रचण्डदेखि नायारणकाजी श्रेष्ठले समेत गुट बनाएर निर्वाचनमा आफ्ना उम्मेदवार उतार्ने स्थितिले अब माओवादीभित्र निर्वाचनको माहोल जबर्जस्त बन्न पुगेको चर्चा चल्न थालेको छ । 

पार्टीमा निर्वाचनबाट नेतृत्व चयनको बहसलाई तीब्रता दिइरहेका जनार्दन शर्माले प्रचण्डलाई कडा टक्कर दिएपछिको स्थिति फरक बनेको छ । यस्तोमा प्रचण्डले अब जनार्दनमाथि हाबी हुन कस्ता राजनीतिक अस्त्रको प्रयोग गर्लान् भन्ने शंकाहरु समेत देखिएका छन् । तर, विद्यार्थीको चुनावले प्रचण्डलाई धक्का भने पक्कै दिएको छ । अध्यक्षबाहेक अधिकांश पदाधिकारीमा आफू पक्षमा नेताहरुलाई विजय गराएका जनार्दनले माओवादी केन्द्रभित्र अब विधिको प्रारम्भ भएको दाबी गर्दै कसैले कसैलाई टक्कर दिने विषय नभएको दाबी गरिरहेका छन् । 

जनार्दनले यस्तो जिकिर गरेपनि  माओवादीभित्रका विभिन्न गुटहरुको निर्माण र बलियो पकड देखाउन सफल जनार्दनबीच नै टकराव हुने भने पक्कै देखिन्छ ।

जनार्दन किन प्रचण्डसँग विच्किए ?

गएको महाधिवेशनमा जनार्दनले महासचिव बन्ने चाहना राखेका थिए । यसमा उनले अध्यक्षबाहेक चुनाव गराएर गए आफू तयार भएको सन्देश प्रचण्डलाई पु¥याइसकेका पनि थिए । तर, प्रचण्डले चुनावले पार्टीको आन्तरिक समिकरणमा बदलाब आउने र आफूमाथि नै खतरा हुने देखेपछि आफुलाई अध्यक्ष चयन गराएर बाँकी पद खाली राखि महाधिवेशन सकिदिए । त्यसपछि पदाधिकारी चयनमा प्रचण्डले महासचिवमा नसोचेका नेतालाई अघि सारे, उनी थिए, देव गुरुङ ।

देव गुरुङले तत्कालीन समयमा मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजनमा जाने निर्णय लिएको र पछि रामबहादुर थापा बादलसँग एकतामा आएकाले उनी धोकेबाज हुन भन्ने बुझाई जनार्दनको देखिन्थ्यो । 

यस्तोमा उनले महासचिवको निर्वाचनमा वर्षमान पुनसँग भिड्न पर्ने ठानेका थिए । तर, प्रचण्डले चालबाजी गर्न थालेपछि जनार्दन–वर्षमानले नै दुई जनामध्ये जसलाई बनाएपनि मान्य हुने भने । तर, प्रचण्डले भने दुबै जनालाई समान हैसियत उपमहासचिव बनाएर अनि देव गुरुङलाई महासचिव बनाइदिए । त्यसपछि चिढिएका जनार्दनले प्रचण्डको आश्वासनमा भन्दा आफै बलियो बन्नुपर्ने धारणासहित अघि बढ्न थाले । 

एकपछि अर्को गर्दै प्रचण्डमाथि प्रहार गरिरहेका जनार्दनले विद्यार्थीको निर्वाचनसम्म आईपुग्दा आफूलाई साबित गर्ने गरि अघि बढिरहेका छन् । प्रचण्डले शक्ति बस्नेतलाई अघि सारेर निर्माण गरेको गुटमा देव गुरुङदेखि धेरै नेताहरुको समर्थन रहेको थियो भने जनार्दनको कोटाबाटै अध्यक्ष बनेकी पञ्चा सिंहले समेत प्रचण्डलाई नै सघाएकी थिइन् । तर, जनार्दनले आफ्नो टिम खडा मात्रै गरेनन्, निर्वाचनमा बलियो उपस्थिति नै जनाएर प्रचण्डमाथि दबाब नै सिर्जना गरेका छन् । 

प्रचण्ड र चुनाव

पार्टीको आन्तरिक नेतृत्व चयनमा पनि चुनावको पक्षमा वकालत गरिरहेका जनार्दनले अब जसरी पनि निर्वाचनको माहोल बन्ने धारणा राख्न थालेका छन् । विद्यार्थीबाटै यसको शुरुवात भएको दाबी गरिरहेका उनले निर्वाचन नै पार्टीको जीवन पद्धति बन्न पुगेको भनिरहेका छन् भने आगामी महाधिवेशनबाट निर्वाचनमार्फत नै नेतृत्वको चयन गर्नुपर्ने भन्न थालेका छन् । 

यसले प्रचण्डलाई पनि अब अध्यक्षमा निर्वाचित हुनुपर्ने त होइन भन्ने चिन्ता बढिरहेको छ । यस्तो स्थितिले माओवादी केन्द्रभित्रको अबको राजनीति थप पेचिलो बन्ने देखिन्छ ।

विद्यार्थीलाई जनार्दनको सन्देश

जनार्दनले काठमाडौंको कलंकीस्थित एक स्थानमा कार्यक्रम राखेर आफू पक्षबाट निर्वाचित भएका विद्यार्थी नेताहरुलाई बधााई दिएका छन् । उनले बधाईको क्रममा निर्वाचनले जित मात्रै नभएर पार्टीका निम्ति ठूलो शिक्षा भएको समेत बताएका छन् । पदाधिकारी स्तरका नेताहरुलाई बधाईको क्रममा जनार्दनले हेडक्वाटरको नाममा गरिएको प्रचारलाई चिर्न सफल भएको र अब हेडक्वाटर नै यहि हो भन्दै काउन्टर समेत दिएका छन्। 

पार्टी निर्माणको क्रम विद्यार्थीबाट शुरु भएको दाबी गरेका जनार्दनले निर्भिक भएर काममा लाग्न र समन्वयको भरपुर प्रयास गर्ने गरि अघि बढ्न निर्देशन समेत दिएको बताइन्छ । भेलामा सुदन किरातिदेखि थुप्रै नेताहरु उपस्थित भएको बताइन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update