News 24 Television
सिन्धुपाल्चोक, कार्कीटारका किसान तरकारी खेतीबाटै आत्मनिर्भर

सिन्धुपाल्चोक । अरनिको राजमार्गस्थित जल्किनेबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ सिन्धुपाल्चोकको कार्कीटार । बस्तीको बीचमा खेतका टार र हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु यहाँका स्थानीयको दैनिकी हो भने यही मेहनत र परिश्रमले किसानलाई गतिलो आम्दानी पनि भइरहेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी –१० कार्कीटारका ६१ वर्षीय रेशमवहादुर खड्काले तरकारी फलाएर बेच्न थालेको २५ वर्ष भयो । त्यो समय डोकोमा बोकेर बजारमा विक्री गर्नुपथ्र्यो । 

किसानी परिवारमा जन्मिएका खड्काले ३ वर्ष खाडीमा पनि पसीना बगाउन भ्याए । विदेशको दुख देखेका उनि २५ वर्षदेखि नेपाल फर्किएर तरकारी खेतीमा व्यस्त छन्। उनी अहिले कार्कीटारमा अगुवा कृषकको रूपमा स्थापित भएका छन ्।
कार्की टार गाउँ चौतारा साँगाचोकगढी नगर भित्र नै तरकारी उत्पादनका लागि उर्बर मानिन्छ । यहाँका सबैजसो किसान बिहान सबेरैदेखि साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त हुन्छन्। यहि गाउँमा अर्का किसान झम्क महतले १८ रोपनी जमिनमा यतिबेला सिमी, गोलभेडा, काउलीबन्दा र प्याज फलाइरहेका छन् । तरकारी खेतीका लागी आइरन टनेलदेखि नयाँ मल्चिङ प्रविधि प्रयोग गरेका महतले यो वर्ष गोलभेडा मात्रै बेचेर १५ लाख कमाए । 

पर्याप्त सिँचाइ पुगेको र बिहानदेखि साँझसम्म घाम लाग्ने पारिलो जग्गा भएकाले यो स्थानमा जे खेती गरे पनि राम्रो उत्पादन हुने किसानहरुको अनुभव छ । नमुना कृषि सहकारी सस्था लिमिटेडको कृषि तथ्यांक अनुसार कार्कीटारमा करिब ३ सय रोपनी जमिनमा तरकारी खेती गरिएको छ । 

गतवर्षबाट चौतारा साँगाचोकगढी नगरपालिकाले पनि कार्कीटारलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि अहिले साना मझौला ४० जना किसान तरकारी खेतीमा आबद्ध छन् । स्थानिय बजारमा तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले कार्कीटारलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । गतवर्ष तरकारी खेतीको लागी नगरपालिकाले दुई वटा समुहमार्फत २० लाख अनुदान कृषकलाई प्रदान गरेको थियो । 

गाउँमा जति उत्पादन भएपनि नजिकैको सुकुटे, चौतारादेखि काठमाडौँका बजारसम्म पु¥याउन ब्यापारी खेतबारीमै किन्न आउँछन् । यहाँका किसानले तरकारी खेतीमात्र होइन, मलका लागी गाई र भैंसी पनि पालेका छन् । दैनिक  ५० लिटर दूध यो गाउँबाट बजार पुग्ने गरेको छ ।  गाउँमै रहरलाग्दो गरी कृषी कर्म गरीरहेका किसानले बर्षको १ करोड वढी आम्दानी गर्ने गरेका छन् ।   

हरेक सिजनमा बिक्रीमूल्य फरक भएकाले यति नै कमाइ हुन्छ भन्ने चाहिँ यकिन नहुने कृषक बताउछन् । लागत हेरेर नगरपालिकाले मूल्य तोकिदिने हो भने किसान र उपभोक्तासम्म सबैले लाभ लिन सक्ने कार्कीटारका किसानको भनाइ छ । नगरपालिकाको आफ्नै स्रोतबाट खरीद गरेको कृषि एम्बुलेन्सको प्रयोग र कृषि प्राविधिकलाई परिचालन गर्न सके कृषिकर्म अझ सहज हुने किसानहरु बताउँछन् ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update