News 24 Television
लोप भए आरन पेशा, पोखरामा यस्तो अवस्था 

कास्की । कुनै समय थियो भान्सामा प्रयोग हुने भाँडाकुँडा हुन्, या अन्य कृषि औजार, जसलाई गाउँमा नै परम्परागत ढङ्गले आरनमा बनाउने गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा आयातित भाँडाकुँडा र औजारका कारण परम्परागत आरन पेशा नै लोप हुने अवस्थामा पुगेको छ । 

यिनी हुन् मुस्ताङको उपल्लो मुस्ताङ घर भएका अर्जुन विश्वकर्मा । उनले पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित नदिपुरमा झन्डै दुई दशकभन्दा बढी समयदेखि आरन मार्फत घरायसी प्रयोजनमा प्रयोग हुने भाँडाकुँडा निर्माण गर्दै आएका थिए । 

यही पेशा व्यवसायले आफ्नो परिवारको रोजीरोटी धान्दै आएका विश्वकर्मा अहिले भने परिवार पाल्न धौधौ भएको सुनाउँछन् । विदेशबाट आयातित भाँडाकुँडा र मेसिनले बनाएका भाँडाकुँडाले बजार ढाक्दा आरन मार्फत हातले बनाएका भाँडाकुँडाको माग घट्न थालेपछि यस्तो समस्या आएको हो । 

पुराना चलिआएका पेशा व्यवसायको संरक्षण र प्रवद्र्धन अनि स्थानीय उत्पादन बजारीकरणको दायित्व स्थानीय सरकारको हो । तर, आरन व्यवसाय लोप हुने अवस्थामा पुगिसक्दा समेत स्थानीय सरकारहरूले वास्ता गरेका छैनन् । 

सरकारबाटै प्रत्साहनका काम नहुँदा नयाँ पुस्तामा आरन पेशाप्रति नै रुचि घट्दै गएको अर्जुन विश्वकर्माको अनुभव छ । कुनै समय थियो पोखराको नदीपुरलाई हातबाट बनाइएका भाँडाकुँडाको बजारको रूपमा हेरिन्थ्यो तर अहिले धेरैजसो व्यवसायी विस्थापित भएर गएका छन्, भने एक दुई जना मात्रै यो व्यवसाय धानेर बसेका छन् ।

तामा, सिलोट र फलामलाई आरनमा हालेर गनले कुटीकुटी तयार पारिएका भाँडाकुँडाहरु बजारमा देख्न नै मुस्किल छ अहिले । आयातित भाँडाकुँडाका कारण परम्परागत भाँडाकुँडाहरू विस्थापित जस्तै भइसकेका छन् गाउँशहरबाटै । यति मात्रै होइन आरनकै सहायताले तयार गरिने कृषि औजारहरू कोदाली, कुटो, बन्चरो, आँसी, हलोका फालीहरू बनाउने आरन पनि गाउँघरबाट लोप हुने अवस्थामा पुगेका छन् । 

कृषि उपकरणहरूमा मेसिनको प्रयोग बढेसँगै आरनबाट तयार हुने औजारहरूको प्रयोग घट्दो छ भने त्यस्ता औजार तयार गर्ने जनशक्ति पनि विदेशिन बाध्य छन् । सहरी क्षेत्रमा खेतीयोग्य जमिन मासिँदै जानु, आधुनिक मेसिनको प्रयोग बढ्नु तथा ग्रामीण क्षेत्रका युवाहरू विदेशिने चलनले गर्दा खेतीपाती कम हुनाले आरनबाट तयार हुने कृषि औजारको माग निकै घटेको अर्का आरण व्यवसायी कृष्णबहादुर बिक बताउँछन् ।

जुनसुकै पेशा व्यवसायलाई सहजीकरण गर्न आधुनिक प्रणाली भित्रिनु त राम्रो कुरा हो, तर परम्परागत पेशा नै लोप हुने गरी आयातित वस्तु भित्रिने तथा जनशक्तिकै अभावका कारण परम्परागत पेशा लोप हुँदै जानु राष्ट्रका निम्ति सुखद सन्देश भने होइन । 

त्यसैले राज्यका माथिल्ला निकायदेखि स्थानीय तहसम्म नै आरन र आरन जस्तै  परम्परागत पेशा जोगाउन समयमै ध्यान नदिने हो भने अर्जुन र कृष्ण बिक जस्ता स्वदेशमै परम्परागत पेशाले जीवनस्तर उकास्छु भनेर पर्खेका पनि बिस्तारै विदेश पलायन हुँदै जानेछन् । त्यसैले पुख्र्यौली पेशा जोगाउन सरकारी स्तरदेखि नागरिक स्तरसम्म सबै अग्रसर हुन आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update