News 24 Television
प्रचण्डप्रति ओलीको कटु व्यंग्य : सत्ताको डुंगामा प्वाल पार्ने खेल बन्ध्याकरण भयो !

काठमाडौँ । संसदको हिउँदे अधिवेशन ढिलो भए पनि शुक्रबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा रास्वपाले भद्र विरोध गर्दै बहिस्कार गरे पनि अन्य दलहरुले सहभागिता जनाएका छन् । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ र विपक्षी नेताहरुप्रति कटु व्यंग्य गरेका छन् । उनले सरकार ढल्दैछ भन्दै जता गए पनि भाषण छाट्दै आएका प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति मुख्य रुपमा प्रहार गरे । प्रचण्डजस्ता नेताहरुले सरकार ढल्छ ढल्छ भन्दै आफ्नो समय बेकारमा खेर फालिरहेको ओलीको कटाक्ष छ ।

म त ढलेँ–ढलेँ... भन्ने गीत धेरै गाइएको बताउँदै ओलीले यस्ता गीत मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाउनले तर राजनीतिमा अब नसुहाउने टिप्पणी गरे । सरकार बनाउने र हटाउने थलो सदन नै भएकाले दिनरात सरकार ढल्ने हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि राम्रो नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पार्टी फुटाउने, टुक्राउने, भत्काउने जस्ता झिनामसिना खेल खेलेर नअल्झिने समेत बताए । काँग्रेस–एमाले सहितको बलियो सरकारको प्राथमिकता पार्टी फुटाउने नरहेको बताउँदै उनले माधव नेपालको पार्टी लगायत विपक्षी दलहरु त्यसै डराइरहेको टिप्पणी समेत गरे ।

प्रधानमन्त्री ओलीले सरकारको म्युजिकल चेयर गेम भन्दा जनताको जीवनका कुराहरुले बढी अर्थ राख्ने समेत बताए । पूर्व–प्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतमा सत्ताको नाउ (डुंगा)मा प्वाल पार्ने र फुत्त अर्को डुंगा सर्ने गरेको भन्दै ओलीले थप कटाक्ष गरे । कहिले काँग्रेस र कहिले एमालेसँग साँठगाँठ गर्दै प्रचण्ड डेढ वर्ष सरकार चलाएका थिए । सोही कुराले आजित भएर काँग्रेस–एमाले मिल्नुपरेको ती दलका नेताहरुले बताउँदै आएका थिए । शुक्रबारको संसद बैठकमा ओलीले प्रचण्ड प्रवृत्तिप्रति व्यंग्य गर्दै अब सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको बन्ध्याकरण भएको बताए । गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको उनको भनाइ छ । संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट समेत अहिलेको सरकार मुक्त भएको उनको भनाइ छ । 

ओलीले अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र तहसनहस पारेको, राज्यको ढुकुटी रित्याएको र आफू आएर बल्ल सम्हालेको अरोप समेत लगाउँदै आएका छन् । उनले काठमाडौं–तराई द्रुतमार्गको धेद्रे सुरुङ, चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग लगायत आयोजना ब्रेक–थ्रु भएको सन्दर्भ दिँदै विकास निर्माणका काममा ‘ब्रेक–थु’ गरेको दाबी गरे । साथै अर्थतन्त्र ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको नगद प्रवाह तथा भुक्तानी दिने काममा आफ्नो सरकारले राम्रो गरेको दाबी समेत गरे ।

प्रचण्डको सरकार ढल्ने हल्लालाई काँग्रेस सभापति शेरबहादुर देउवाले समेत खण्डन गरेका छन् । प्रमुख सत्ता साझेदार काँग्रेस र एमालेको संयुक्त सरकार गठनअघि भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको देउवाको भनाइ छ । विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले नै वर्तमान गठबन्धन सरकार गठन भएको उनको दाबी छ । सरकार सुशासन र विकासमा लागेको भन्दै देउवाले सरकारको बचाउ समेत गरेका छन् ।

राष्ट्रिय राजनीतिमा अस्थिरताका कारक प्रचण्ड भन्ने भाष्यलाई थप बल गर्दै ओलीले प्रचण्डको सत्ता–खेल बन्द भएको बताएका छन् । प्रचण्डले ओली सरकार बनेदेखि नै जता गयो उतै सरकार आफै ढल्न लागेको बताउने गरेका थिए । साथै उनले काँग्रेस–एमालेको सरकार अप्राकृतिक रहेको र सरकारले अध्यादेश ल्याउने लगायत गलत काम गरेको भन्दै विपक्षी दलहरुलाई आफ्नो मोर्चामा एकजुट बनाइरहेका छन् । काँग्रेस–एमाले गठबन्धनमा ओली नेतृत्वको सरकार ढलेको सपनामा रमाइरहेका प्रचण्डलाई ओलीले आफ्नो सरकार ०८४ सालको मंसिरमा मात्रै ढल्ने भन्दै यसअघि पनि जवाफ दिइसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update