काठमाडाैँ । सत्तापक्षमै रहेका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको र न्यायालयले पनि सरकारकै फोन कुरेर मात्र फैसला गर्ने गरेको गम्भीर आरोप लगाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदमाथि सरकारले नियन्त्रण गरेकाे बताए । साेही कारण संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुन्छन् भन्ने सोचे पनि सोहीअनुसार काम भने नहुने गरेको उनकाे भनाइ छ ।
राउतलले भने, ‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा, हामी त शक्ति पृथकीकरण भन्छौँ, व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ । सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शिर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ । न्यायालयले पनि सरकारकै फोन कुरेर फैसला गर्ने रहेछ ।’