News 24 Television
सरकार भ्रष्टहरूको संरक्षणमा लिप्त रहेको माओवादी र राप्रपाको आरोप

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डे र लिङ्देनले सरकार सुशासनकाे पक्षमा भन्दा बढी भष्टहरूकाे पक्षमा देखिएकाे बताएका हुन् ।

 जनताका अपेक्षाहरुलाई पूरा गर्नेगरी महँगी नियन्त्रण, जनजीविकाका सवालहरुमा सरकारले ध्यान नसकेको भन्दै प्रमुख सचेतक पाण्डेले जनता मूल्यवृद्धिकाे मारमा परेकाे बताए । सरकार सहकारी पीडितको बचत फिर्ताका विषयमा गम्भीर नबनेको भन्दै उनले पाथीभरा मन्दिरमा केवलकार बनाउने विषयमा समेत सरकारले दमन गरेको आरोप लगाए । 

उनले भने, ‘मुलुकमा सशासनका मामलामा जसरी जानु पर्ने हो । त्यसरी जान सकेको छैन । सरकारले सत्ता र प्रतिपक्ष भन्दै काँखा र पाखा गरिरहेको छ । सत्ता पक्षलाई काख र प्रतिपक्ष भए पाखा लगाउने काम सरकारले गर्नु हुँदैन । सरकार सबैको हो । सरकारले नीति नियमका आधारमा कामहरु अघि बढाउनुपर्छ । जनताका अपेक्षाहरुलाई पूरा गर्ने गरी महँगी नियन्त्रण,जनजीविकाका सवलहरुमा सरकारले ध्यान दिएको छैन । जनता निर्माण सामाग्री लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको गुनासो गरिरहेका छन् । सहकारी पीडितको बचत र्फिताका विषयमा सरकारले काम गर्न सकेको छैन । सहकारी पीडितहरु कराई रहेका छन् । कुनै विषयमा समस्यास हुँदा सबैपक्षहरुसँग बसेर छलफल गर्ने भन्दा पनि दमन गर्न खाजेको आवास भइरहेको छ । पाथीभरा मन्दिरमा केवलकार बनाउने विषयमा जनताले विरोध गर्दा सरकारले दमन गरेको छ । यस्ता समस्या आउँदा बसेर छलफल गरेर समाधान गरी सांस्कृतिक र परम्परालाई संरक्षण गरेर अघि बढ्नु पर्ने ठाउँमा प्रहरी प्रशासन लगाएर जनतालाई दमन गर्नु ठिक भएको छैन । सरकारले समस्याको समाधान गर्नु आवश्यक छ । संसदलाई व्यवस्थित गर्ने विषयमा संघीयता कार्यान्वयन गर्ने विधेयकहरु सरकारले सांसदमा ल्याएको छैन ।’ 

अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस भएको बताए । उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि भन्दै सुनाएको टिप्पणी समेत गरे । लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धि सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताए । सरकारले सुशासनको क्षेत्रमा कुनै पनि काम गर्न नसकेको र निराश जनतमा आशा जगाउन समेत नसकेको उनकाे टिप्पणी छ ।

उनले भने, ‘निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धी सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन ? विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धी भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्ने छ । सुशासनको क्षेत्रमा वर्तमान सरकारले के ग¥यो । निरासा जनतलाई आशा जगाउने के काम ग¥यो ? देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार ग¥यो ? अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ । यो सरकारको कारणले भएको हो ? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो ? सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचार सम्बन्धि ऐन पेश हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’

 सरकारको साढे ६ महिनाको समय निराशाजनक रहेको भन्दै लिङ्देनले काँग्रेस-एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update