काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्ने कुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताएका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले सकरारले कुनै न कुनै संरचना बनाइरहेको र त्यसले जनतालाई सुविधानको ढोका खोल्दा कतिपयलाई असहज भएको उनकाे जिकिर छ । निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर दुःखद रहेको उनकाे भनाइ छ । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र बन्दै गरेको नेपाललाई अघि बढाउन सकिने उनले बताए ।
ओलीले भने, ‘कुनै न कुनै संरचना बनिरहेको र त्यसले जनतालाई सुविधाको ढोका खोलिरहेको खबर नागरिक जीवनका लागि सुखद् हो । निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर दुःखद् हो । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाललाई देख्नसक्छौं । शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा हामीले सुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल हो– जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको छ । यसमा ५० भन्दा बढी सेवा आबद्ध छन् । नागरिक एप अहिले नेपालमा सबैभन्दा बढि डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख २६ हजार जनाले यसलाई डाउनलोड गरिसकेका छन् । जसरी केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा हाम्रो भुक्तानी प्रणालीमा नै क्रान्ति आयो, सेवाग्राहिलाई डिजिटल माध्यमबाट भुक्तानीको सुबिधा मिल्यो– त्यसैगरी अहिले नागरिक एपबाट क्युआर कोड स्क्यान गरी बैंक खाता खोल्ने र सरकारी सेवा प्राप्त गर्ने सुविधा मिल्दा यसबाट “लाइन होइन, अनलाइन सेवा” को लक्ष्य पूरा हुँदैछ, सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै छ ।’
प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभएर ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको समेत दाबी गरे । उनले काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताए ।त्यस्तै चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिनअघि मात्रै ब्रेक–थ्रु भएको बताए । ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भए पनि अहिले द्रुत गतिमा काम अघि बढिरहेको दाबी समेत उनले गरे ।