News 24 Television
आईटी क्षेत्रले तहल्का मच्चाउँदै ! यस्तोसम्म मालामाल !

काठमाडौं । प्रविधि क्षेत्र अर्थात आईटी वर्तमान विश्वलाई जोड्ने एक बलियो अस्त्र बनिरहेको छ । यो विश्वलाई जोड्ने माध्यम मात्रै नभएर अहिले सबैभन्दा राम्रो पैसा आर्जन गर्न सकिने क्षेत्रका रुपमा विश्वमा नै स्थापित भइरहेको छ । 

विश्वमा चम्किरहेको आईटी क्षेत्रको अवस्था नेपालमा कस्तो छ त ? के नेपाली आईटी क्षेत्रबाटै मालामाल बन्न सक्छन् ? आईटी क्षेत्रमा सरकारका योजना के छन् त ?

आइटीको महत्व र वर्तमान अवस्थाको कुरा गर्दा विश्वमाथि आफ्नो पक्कड राख्ने एक मात्रै बलियो अस्त्र बन्न सक्छ आइटी क्षेत्र । आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिनै सकेको छ । यस परिवेशका बीच नेपाल सरकारले पनि आईटी क्षेत्रबाट ठुलो आशा बोकेको छ । 

प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको र यसमा आइटी क्षेत्र मुख्य सहयोगी बनेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ । सरकारले सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउने लक्ष्य राखेको छ । यसको बलियो आधारका रुपमा आइटी क्षेत्रलाई लिइएको छ । 

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । उनले पनि अर्थतन्त्रको गति बढाउने आधार आइटी क्षेत्र नै भएको र यसैमा टेकेर सरकारले काम गरिरहेको उनको भनाई छ । त्यसैले सरकारले अब आइटी क्षेत्रलाई एक वृहत्त उद्योगको रुपमा स्थापित गर्ने गरि काम गरिरहेको मन्त्री गुरुङ बताउँछन् । 

सरकारले देशको जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा गरेको छ ।  यस अपेक्षालाई यथार्थमा परिणत गर्न सहयोग पुगोस भनि आइटी क्षेत्रसम्बन्धि आवश्यक नीति समेत यसै महिनाभित्र बनाइसक्ने योजना सरकारको छ । सरोकारवालाहरुको आकलन अनुसार नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सक्नेछ । यसरी हेर्दा अबको दुनियाँमा आइटी अहिलेसम्मको उत्कृष्ट सम्भावनाको क्षेत्र हो । 

नेपालबाट औपचारिक तथा अनौपचारिकरूपमा वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात भइरहेको छ । कम्पनीबाट मात्र नभएर व्यक्तिगतरूपमा समेत यस्तो सेवा बाहिरिएर नेपालले फाइदा कमाइरहेको छ । नेपालमा ८० हजार जना आइटी क्षेत्रमा कार्यरत छन् । सूचना प्रविधि खासगरी इन्टरनेटसँग सम्बन्धित क्षेत्र हो। 

एउटा कम्प्युटर, एउटा मोबाइल, एकजना मात्र बस्ने मिल्ने ठाउँ, खासै ठूलो लगानी नपर्ने जस्ता कारण यो क्षेत्र अहिले धेरैको रोजाइमा पर्न थालेको छ । यो क्षेत्रमा रमेकाहरूले हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइन, एनिमेसन, टेलिमेडिसिन, अनलाइन मार्केटिङलगायतका सेवा विदेश निर्यात गरिरहेका छन् । नेपालमै बसेर विश्व शक्ति अमेरिका तथा सम्पन्न मुलुक भारत, चीन, अस्ट्रेलिया र अन्य युरोपियन मुलुकमा निर्यात भइरहेको नेपालको आइटी उत्पादन आर्थिक समृद्धिका हिसाबले निकै राम्रो क्षेत्र हुनेमा शंका छैन । 

आईटी क्षेत्रमा कस्ता छन् सरकारका योजना ?

–    आर्थिक वर्ष २०८१÷८२ को बजेटमा आईटी क्षेत्रका लागि ७.२५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

–    डिजिटल पूर्वाधारको विकास, ई–गभर्नेन्सको प्रवद्र्धन र डिजिटल साक्षरतालाई बढावा दिने लक्ष्य

–    सन् २०२४–२५ देखि २०३३–३४ सम्मको अवधिलाई ‘आईटी दशक’ घोषणा 

–    आईटी सेवाहरूको निर्यात गरि ३० खर्ब रुपैयाँ कमाउने र रोजगारी सिर्जना गर्ने उद्देश्य

–    लगानी स्वीकृतिका लागि स्वचालित प्रणाली 

–    राष्ट्रिय सूचना प्रणालीको एकीकरण 

–    कृषि डेटाका लागि बजार सूचना प्रणाली स्थापना 

–    स्टार्टअप र नवप्रवर्तनका लागि अभियान 

–    ब्रोडब्यान्ड विस्तार, स्याटलाइट इन्टरनेट, ई–गभर्नेन्स र डेटा सुरक्षा कानूनको तयारी

–    डिजिटल साक्षरता र निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग जस्ता कार्यक्रमहरू गरिदै । 

यसरी हेर्दा प्रविधि अर्थात आईटीका क्षेत्रमा सरकारले बनाएका महत्वकांक्षी योजनाहरू त प्रशस्त छन् तर, यिनको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम र तदारुकताको खाँचो भने रहेकै देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update