काठमाडौं । इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीचको युद्धविरामसँगै बन्दी आदानप्रदानको क्रम चलि नै रहेको छ । बन्दी आदानप्रदानका क्रममा सहमति अनुसार नै हमासले आफूले बन्धक बनाएका बन्दीहरु क्रमशः मुक्त गरिरहेको छ भने भने त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेष्टिनीहरुलाई पनि रिहा गरिहेको छ । दुवै पक्षका बन्दीहरु मुक्त भइरहँदा हमासको कब्जामा रहेका नेपालमा विपिन जोशी कहिले छुट्दै छन् त ?
सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गरेको प्रतिआक्रमणमा ठूलो धनजनको क्षति भएको छ । यहिबीचमा दुई पटक भएको युद्धविरामका क्रममा हमास र इजरायलबाट बन्दी आदानप्रदान भइरहेको छ ।
पछिल्लो पटक कतारको सक्रियतामा भएको दुई पक्षीय सहमति अनुसार इजरायलले प्यालेष्टाइनमाथि आक्रमण रोकेको छ भने सहमति अनुसार नै दुबैले बन्दी आदानप्रदान गरिरहेका छन् । तीन चरणमा अघि बढ्ने गरी भएको दोस्रो युद्धविराम लगत्तै हमासले ४ इजरायली सैनिकसहित ७ जनालाई मुक्त गरेको थियो ।
सहमति अनुसार नै विहिबार हमासले पुनः ८ जनालाई मुक्त गरेको छ । जसमा ३ महिला सैनिकसहित ३ इजरायली र ५ जना थाइ नागरिक रहेका छन् । मुक्त हुनेमा झण्डै १५ महिनादेखि हमासको कब्जामा रहेकी इजरायली महिला सैनिक अगम बर्गरसहित अर्बेल यहुद र गदी मोजस छन् ।
इजरायली महिला सैनिकलाई मुक्त गरेको केही समयपछि अन्य ७ जनालाई हमासले अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाएको थियो । हमासले मुक्त गरेको बन्दीको बदलामा इजरायलले पनि प्यालेष्टिनी बन्दीहरुलाई रिहा गरिरहेको छ । ८ जनाको बदलामा इजरायलले १ सय १० जना प्यालिष्टीनीलाई पनि मुक्त गरेको हो ।
४२ दिनको युद्धविरामको क्रममा हमासले तीन चरणमा गरेर ३३ जनालाई मुक्त गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायलले झण्डै १९ सय प्यालिष्टीनीलाई रिहा गर्नेछ ।
यसअघि सन् २०२३ नोभेम्बरमा भएको युद्धविरामका क्रममा हमासले १९ थाई नागरिक सहित २० जनालाई मुक्त गरेको थियो ।
कहिले मुक्त होलान् विपिन ?
बन्दी आदानप्रदानका क्रममा हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी विहिबार छुट्ने अपेक्षा नेपाली अधिकारीहरुले गरेका थिए । तर विहिबार ३ इजरायलीसहित ८ जना छुट्दा विपिन भने छुटेनन् ।
विहीबार हमासले ५ जना थाइ बन्दीलाई मुक्त गरेसँगै अब हमासको कब्जामा विपिनसहित २ जना विदेशी नागरिक मात्रै बाँकी रहेका छन् । बन्दी आदान प्रदानको सूचीमा भने हमासले विदेशी नागरिकको नाम समावेश गर्ने गरेको छैन ।
त्यसैले जुनसुकैबेला पनि विपिन छुट्ने भन्दै तयारी अवस्थामा रहनका लागि भनेको इजरायलले नेपाली राजदूत धनप्रसाद पण्डितलाई गराएको बीबीसीले जनाएका छ ।
अब अर्को बन्दी आदानप्रदान शनिवार हुनेछ । शनिवार हुने बन्दी आदान प्रदानका क्रममा विपिन पनि हमासबाट मुक्त हुने अपेक्षा गरिएको छ ।