News 24 Television
पहिलो दिननै यस्तो पनि गरिने ! शुरुवातमै उथलपुथलको संकेत !

काठमाडौं । संसदको हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भनि राजनीतिक दलहरु आ–आफ्ना योजना बनाउन व्यस्त रहेको यस समयमा संघीय संसद सचिवालयले पनि आफ्नो तयारीलाई तीव्र बनाइरहेको छ । 

शुक्रबारदेखि अधिवेशनका शुरु गरिने भएकाले सचिवालयले सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ । अन्य व्यवस्थापकीय पक्ष पनि ठिकठाक राखिएको छ । 

शुक्रबारदेखि संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन शुरु गरिदैछ । शुक्रबार दिउँसो १ बजे देखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वर काठमाडौंमा अधिवेशन शुरु गर्न लागिएकाले आवश्यक सबै तयारी करिब पूरा भएको संघीय संसद सचिवालयले जनाएको  छ । हिउँदे अधिवेशनलाई विशेषगरि कानून निर्माणको अधिवेशनका रुपमा लिइन्छ । 

वर्षे अधिवेशनमा बजेट निर्माण र बजेटसँग सम्बन्धित कानूनहरु निर्माण गरिने भएकाले हिउँदे अधिवेशन पूर्णरुपमा कानून निर्माणमा केन्द्रित रहनु पर्ने हुन्छ । सोही अनुसारको तयारी समेत भइरहेको छ । यो अधिवेशन कानून निर्माणको स्वर्णिम समय भएकाले सांसदहरु समेत जिम्मेवार भएर लाग्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आग्रह छ । 

अधिवेशनको पहिलो दिनका लागि संघीय संसदको दुवै सदनका सम्भावित कार्यसूची समेत संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । 

अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा के–के हुँदैछ ?

-   संसदको अधिवेशन आह्वान सम्बन्धि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्रको व्यहोरा प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाउने 

-    प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने

-    सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने 

-    अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची

-   प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने 

-    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने

-    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने 

-    सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि 

 अधिवेशनको पहिलो दिन राष्ट्रियसभामा के–के हुनेछ ?

-  दुवै सदनको संयुक्त बैठक पश्चात राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गरिने 

दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको छ । परिस्थिति अनुसार विधेयकहरुमाथि चर्चा गर्ने तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update