News 24 Television
कोमामा रहेको अर्थतन्त्र फर्काएकाे दाबी

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने दाबी गरेका छन् ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न काम गरिरहेको बताए । आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गरे । उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको समेत बताए । 

मन्त्री गुरुङले भने, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानूनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ । यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने मलाई लाग्छ । एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो । सबै व्यवसायीहरुको चाहना के थियो भने आइटी सेक्टरमा काम गरिरहेका उद्याोग, व्यवसायहरु उनीहरुले आफ्नो कम्पनीको संस्थाको सहायक संस्थाहरु अरु देशमा पनि खोल्न पाउने परिस्थिति बनोस्, हामीले उनीहरुको प्रतिष्पर्धामा भाग लिन पाइयोस्, त्यहाँ पनि लगानी गर्नसके धेरे विकास गर्न आइटी सेक्टरमा सकिन्छ, नेपाल सरकारको राजश्व पनि वृद्धि गर्न सकिन्छ भन्नुभएको थियो ।’

उनले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए । अध्यादेशले यसको प्रबन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको बताए । यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने उनकाे भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update