News 24 Television
ओखलढुंगाको सामुदायिक वनमा रिचार्ज पोखरी

ओखलढुङ्गा । ओखलढुंगाका धेरै क्षेत्र सुख्खा ग्रस्त बन्दै गएका छन् । बढ्दो जलवायु परिवर्तनसँगै भूकम्प, आगलागी र डढेलो जस्ता प्राकृतिक विपत्तिका कारण पानीका मुहानहरु सुख्दै जाँदा जंगली जनावरलाई समेत पिउने पानी र आहारको अभाव हुँदै गएको छ । 

त्यसकारण एकातर्फ जंगली जनावरले मानव वस्तीमा पसेर हैरानी थपिरहेका छन् भने, अर्कोतर्फ डढेलोको जोखिम पनि झन्झन् बढ्दै गएको छ । यी नै समस्याहरुलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय ओखलढुंगाले विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी बनाएर समाधानको प्रयास थालेको छ ।  

ओखलढुंगामा डढेलोको जोखिम दिन प्रतिदिनबढ्न थालेपछि डिभिजन वन कार्यालय ओखलढुंगाले विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी बनाउन थालेको छ । 

सुख्खापनका कारण ओखलढुंगामा गत आर्थिक वर्षमा मात्रै दर्जनौँ बन डढेलोको घटना घटे । डिभिजन बन कार्यालयका अनुशार डढेलोले करिब ५ सय२७हेक्टर क्षेत्रफलको बनमा क्षति पुग्यो। बन डढेलोबाट विभिन्न किसिमका जडिबुुटी, वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थान नष्ट भए । 

यस्तो विपत्ती बर्षेनी उकालो चढ्ने क्रम जारी छ । पछिल्ला वर्षहरुमा बढ्दै गएको बन डढेलो र सुख्खापन रोकथामका लागि अहिले भनेडिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी बनाउन थालेको हो ।

चालु आर्थिक वर्षको जलबायु परिवर्तनमा जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्रगत बन कार्यालयले जिल्लाको ३ स्थानीय तहमा रिचार्ज पोखरी बनाउन थालेको हो । सिद्धिचरण नगरपालिकाका २, चिसंखुगढी गाउँपालिकाका ५ र मानेभञ्ज्याङ गाउँपालिकाका ३ गरि जम्मा १० सामुदायिक बनमा रिचार्ज पोखरी निर्माणको योजना अघि सारेर काम थालिएको  छ । यी मध्ये केही स्थानमा पोखरी बनिसकेका छन भने केहि स्थानमा निर्माणको काम भैरहेको छ ।यी पोखरीहरु बहुउपयोगी साबित हुने नागरिकले अपेक्षा गरेका छन ।

पोखरी निर्माणका लागि कार्यालयले प्रति पोखरी२ लाख ३० हजार उपलब्ध गराएको छ भने स्थानीय वन समूह र समुदायको १० प्रतिशत लगानी रहने छ ।पोखरीमा विशेष गरी वर्षातको पानी जम्मा हुनेछ । रिचार्ज पोखरीले बनमा हुने डढेलो न्यूनिकरण, तल्लो भागमा रहेका पानीका मुहानहरुको संरुक्षण र बृद्धिमा मदत पुग्ने, जंगली जनावरलाई पिउने पानीको सहज आपुर्ती हुने र पोखरी आसपासमा चिस्यान कायम भई बोटविरुवालाई हुर्कन मदत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने कार्यालयको आशा छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update