कास्की । अन्नपूर्ण हिमाल क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य हो । यहाँ पछिल्लो वर्षहरुमा पर्यटको सख्या बढ्दै गएको छ । कोरोना कहर पछि यस क्षेत्रमा पर्यटकको संख्या बढी रहेको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा यहाँ ५२ हजार ४ सय भन्दा बढी पर्यटक भित्रिएका छन् ।
अन्नपूर्ण हिमाल क्षेत्र विश्वचर्चित नाम हो । त्यसमा पनि साहासिक पर्यटन र पदयात्रा रुचाउनेहरुका लागि त यो ठाउँ प्रमुख मध्येको एक रोजाई हो । पछिल्ला वर्षहरुमा यहाँ लाखौंको संख्यामा विदेशी पर्यटकहरु भित्रिने गरेका छन् ।
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य मानिएको यस क्षेत्रमा सन् २०२४ मा अहिले सम्म कै बढि पर्यटकहरु आएका छन् । सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक यस क्षेत्रमा पुगेका छन् ।
तीमध्ये दक्षिण एसियाली मुलुकका मात्रै १ लाख ३२ हजार ९४ पर्यटक रहेका छन् भने अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार यो संख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा १ लाख ९१ हजार ५ सय ५८ पर्यटक यस क्षेत्रको भ्रमण गरेका थिए ।
सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला पास भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्य स्थलमा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय भारतीय र चाइनिज पर्यटक बढे सँगै पर्यटन चलायमान भएको र राज्य लगायत सम्बन्धित संघ संस्थाहरुले पर्यटन प्रवद्र्धनात्मक कार्यकम बढाउन सके अझै धेरै पर्यटक भित्र्याउन सकिने ट्रेकिङ एजेन्सिज एशोसियसन नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी जिल्लामा अन्नपूर्ण क्षेत्र पर्दछ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।