News 24 Television
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत ! 

काठमाडौं । काँग्रेस–एमाले गठबन्धनको सरकार बनेयता देखि नै सत्ताको आयुमाथि पटक पटक प्रश्न गरिँदै आएको छ । ओली नेतृत्वको सरकार बनाउन काँग्रेसले नै सहयोग गरेपछि यो समीकराणलाई सँधै शंकाकै रुपमा हेरिँदै आएको छ भने प्रतिपक्षी दलहरुले पनि यसमाथि गम्भीर प्रश्नहरु उठाउँदै आइरहेका छन् । 

विपक्षीले काँग्रेस एमालेको मिलनलाई भ्रष्टचारी जोगाउन अप्राकृतिक र अस्वभाविक रुपमा गठबन्धन गरेको आरोप लगाउँदै आएको छ ।  यद्यपि सत्ता पक्षले भने राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि काँग्रेस एमाले मिलेको दादी गर्दै आएको छ । उता एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिपक्षीको आरोपलाई खण्डन गर्दै आफू नेतृत्वको सरकारले विगत र अहिले पनि असाधारण काम गरिरहेको जिकिर गर्छन् । 

सुरुमै सरकार गठन गर्न नदिने रणनीतिमा लागेका विपक्षी दलहरु अझै सरकार ढाल्ने र बनाउने राणनीतिमै केन्द्रीत देखिन्छन् । जसका प्रयासस्वरुप प्रतिपक्षले काँग्रेस संस्थापन इतर पक्षलाई विश्वासमा लिने प्रयासदेखि विपक्षी गठबन्धन बनाउने सम्मको प्रयास गरेका छन् । 

जसका कारण सत्ताको नेतृत्व गरिरहेका दल एमाले पनि दवावमा परेको छ । सरकारले ल्याएको अध्यादेशमा विपक्षीको निरन्तर विरोध, संसद अधिवेशनको लागि दवाव, समाजवादी मोर्चा नै गठन गरेर विपक्षमा एमाले भन्दा ठूलो संख्या प्रस्तुत हुनुले ओलीमाथि दवाव सृजना भएको रुपमा लिन सकिन्छ । 

तर नेकपा एमालेले भने विपक्षी दलको गतिविधि र मोर्चाबन्दी अनावश्यक भएको निश्कर्ष दिँदै आएको छ । संसदीय दलको बैठक नै राखेर गरेको छलफलबाट  सरकारको कदम र कार्यलाई लिएर विपक्षी दलहरुले मुलुकमा भ्रमको खेती गरिरहेको एमालेले निश्कर्ष दिएको हो । 

हुनत विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेशको विषयलाई लिएर सरकार ढाल्ने रणनीति नै बनाएका थिए । जसका लागि एमालेलाई एक्लै बनाउने र काँग्रेसलाई नै साथमा लिएर सरकार बनाउने तयारी पनि भएको थियो । यदी वर्तमान गठबन्धन टुटेमा काँग्रेससँगै मिलेर सरकार बनाउने ध्याउन्नमा विपक्षी दलहरु थिए । यद्यपि काँग्रेस नेतृत्व विपक्षीको प्रलोवनमा नपरी वर्तमान सरकारलाई नै निरन्तरता दिने निचोडमा पुगेको स्थिति छ । 

 यसले सरकार तलमाथि नहुने निश्कर्ष दिन सकिन्छ । तरपनि काँग्रेसमा सत्ता नेतृत्वप्रति हेर्ने नजर फरक–फरक रहेकाले गठनबन्धनमा समस्या नपर्ला भन्ने अवस्था पनि छैन । 

आत्तिएका ओली, फकाउँदै देउवा 

वर्तमान सत्ता गठबन्धन ढालेरै छाड्ने चाहनामा रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड काँग्रेसकै संस्थापन इतर पक्षलाई विश्वासमा लिने योजनामा थिए । हुनत ः काँग्रेस महामन्त्री गगन थापाले केही महिनाअघि प्रचण्डले दिनहुँ देउवालाई प्रधानमन्त्री बनिदिन भन्दै खबर पठाइरहेको दावी गरेका थिए । यद्यपि त्यसलाई खण्डन गरेको माओवादीले कहि न कही रुपमा अझै सरकार ढाल्ने प्रयत्न भने गरिरहेकै छ । 

सत्ता ढाल्नकै लागि प्रतिपक्ष शक्तिशाली विपक्षी मोर्चा बनाउन पनि सफल भयो । यसमा फरक राजनीतिक सिद्धान्त बोकेको राप्रपा समेत सामेल बनेको छ । यी राजनीतिक परिदृष्यकै कारण ओली रक्षात्मक बनेको देखिन्छन् । 

उनले तत्काल संसद अधिवेशन सुचारु गर्ने निर्णयसमेत गरे भने विपक्षीकै रणनीति निश्तेज पार्न अहिले एमाले सक्रिय ढंगले लागेको छ । जसका लागि एमालेले काँग्रेसलाई नै विश्वासमा लिनुपर्ने बाध्यात्मक अवस्थामा पनि छ । यसै प्रयोजनरुवरुप एमालेले काँग्रेसलाई सत्ता हस्तान्तरण मिति पनि पटक पटक सम्झाइरहेको छ । केही दिन अघि मात्रै एकै दिन एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र सरकारका प्रवक्तासमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकार ढल्ने हल्ला मात्रै भएको टिप्पणी गर्दै सरकार आगामी ८४ सालमा मात्रै परिवर्तन हुने दावी गरे । 

त्यस्तै देउवालाई विश्वासमा लिनुपर्ने बाध्यात्मक अवस्थामा रहेका ओली पनि पटक–पटक सत्ता हस्तान्तरणको मिति स्मरण गराउँदै आएका छन् । मंगलबार मात्रै पनि ओलीले सरकार ८४ सालमा मात्रै परिवर्तन हुने प्रष्टिकरण दिए । 

त्यस्तै सोमबार वालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि प्रधानमन्त्री ओलीले सभापति देउवलाई एकै लहरको कुर्सीमा राखेर काँग्रेसलाई प्रभावित पार्न खोजे । जबकी यसअघिका बालुवाटार बैठकमा ओली मात्रै अघि बस्दै आएका थिए । यद्यपि प्रतिपक्षीले सरकारमाथि थप दवाब बढाएपछिको बैठकमा भने ओलीले देउवालाई समान हैसियत दिएका हुन् । यही परिदृष्यले पनि ओली काँग्रेसलाई फकाउने राणनीतिमा लागेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update