News 24 Television
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशाेधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताए ।

सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोध, सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए । परियारले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय पार्टीले गरेकाे बताए । उनका अनुसार सरकारले ल्याएको नयाँ स्टक एक्सचेन्जकाे अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनर्संरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय समेत भएको छ ।

उनले भने, ‘मुख्य गरी दुई र विविधमा दुई वटा गरी चारवटा निर्णय गरेका छौं । संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधिन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेश गरेको छ । ती अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय गरेको छ । सरकारले राजनीतिक प्रतिसोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्वन गरेको छ । प्रतिनिधि सभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ । सभापति माथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध गर्ने,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदा विरोध गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ स्टक एक्सचेन्जको अवधारणाको सैदान्तिक विमति होइन । तर नेप्सेलाई नै पुनःसंरचना गर्नुपर्छ । क्षमता बढाउनुपर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णय गरेको छ । विरोध गर्ने निर्णय भएको छ । ताप्लेजुङको पाथीभरामा जुन केवलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको रास्वपाले भ्रर्सना गर्ने निर्णय गर्दछ । राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौं । न्याय दिन सरकारसँग आग्रह गर्दछौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो । पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई सहकारी ठगी तथा सम्पती शुद्धीकरणको मुद्दा लागेसँगै सांसद पदबाट निलम्वन भएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update