News 24 Television
राधिका शाक्यको नाममा स्वीस बैंकमा ४१ करोड डलर, के हो सत्यता ? (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पत्नी राधिका शाक्यविरुद्ध सामाजिक सञ्जालमार्फत दुष्प्रचार एवं अफवाह फैलाउने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । केही समयअघि प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको भन्दै व्यापक हल्ला फैलाइयो । कम्बोडियाको टेलिकममा ओलीको नाममा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विवादास्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईंले मंसिर ३ गते पत्रकार सम्मेलन नै गरे । उनले आफ्नै फेसबुक र केही युटुबरलाई बोलाएर ओलीको लगानी रहेको कागजात भन्दै अस्पष्ट डकुमेन्ट राखेको बनाइएको भिडियो सार्वजनिक गरेका थिए । तर प्रहरीले ओलीको नाम र हस्ताक्षर कीर्ते गरेर भ्रामक हल्ला फैलाएको भन्दै प्रसाईलाई साइबर अपराधको मुद्दामा पक्राउ गरेर अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा प्रसाईले कसैले ह्वाट्सएपमा कागजात पठाएको आधारमा आफूले उक्त भिडियो बनाएको बताएका थिए । उनी अन्ततः धरौटी बुझाएर रिहा भए । 

ओलीको नाममा विदेशमा लगानी रहेको हल्ला विगत ४ वर्षदेखि नै चल्दै आएको थियो । दुर्गा प्रसाईभन्दा अगाडि नै सन् २०२० को जुलाईमा ‘ग्लोबल वाच एनालाइसिस’ नामक एक संस्थाले आफ्नो वेबसाइटमार्फत कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको प्रचार गरेको थियो । उक्त कुरा भारतीय मिडियाले थप प्रसार गरेका थिए भने नेपालका सञ्चार माध्यमले समेत पछ्याएका थिए । तर उक्त समाचारको पुष्टिको आधार भने भेटिएको छैन । 

अहिले आएर प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा ४१ करोड डलर रहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो प्रचार गरिएको छ । भारतीय मिडिया डिएनको ब्यानरमा हिन्दी भाषामा बनाइएको उक्त भिडियो नेपालीहरूले शेयर गरिरहेका छन् । भिडियो क्लिपमा उही ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै राधिका शाक्यको नाममा स्वीस बैंकमा ४१ करोड डलर जम्मा रहेको दाबी गरिएको छ । 

उक्त भिडियो क्लिप स्वयं प्रधानमन्त्री ओलीले हेरेर आफूविरुद्ध भ्रम फैलाउनेहरू धेरै रहेको भन्दै चित्त दुखाएका छन् । मङ्गलवार नेकपा एमाले संसदीय दलको बैठकमा पनि ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध भ्रम छर्नेहरूले पत्नी राधिकाको नाम समेत जोडेर अफवाह फैलाएको गुनासो गरे । उनले बैठकमा भनेका थिए– ‘आज बिहान टिकटकमा एउटा हिन्दी समाचार सुन्दै थिएँ, स्वीजरल्यान्डको बैंकमा प्रधानमन्त्री ओलीकी पत्नीको नाममा ४१ करोड डलर जम्मा गरेको भन्ने प्रचार गरेको देखेँ ।’ ओलीले उक्त समाचार सुन्दा आफँैलाई आश्चर्य लागेको बताए । अब सुन्दा–सुन्दा रिस पनि उठ्न छाडेको ओलीको भनाइ थियो । ओलीले यदि स्वीस बैंकमा त्यत्रो रकम छ भने त्यो ल्याएर बाँडी खान आरोपकर्तालाई नै चुनौती दिएका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले पुनः उक्त प्रसंग उप्काएका छन् । प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ समारोहमा बोल्दै ओलीले पत्नी राधिकाविरुद्ध भ्रम फैलाइएको बताए । ओलीले भने– ‘स्वीस बैंकमा ४१ करोड डलर छ भनेर पत्नीकै नाममा पनि हल्ला फैलाए । सुन्दा रिस उठ्नुपर्ने हो, अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरू हुँदा रहेनछन् क्या ।’ उक्त समारोहमा ओलीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै स्टन्टबाजी गरेर भ्रष्टाचार नियन्त्रण नहुने समेत बताए । 

ओलीको नाममा त विदेशमा यति लगानी उति लगानी भनेर भ्रम फैलाइएकै थियो, अब त पत्नीको नाम समेत जोडर भ्रम फैलाउन थालेको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाएका हुन् । ओलीले आफ्नो र पत्नीको नाममा भएको सबै सम्पत्ति समेत दान गरिसकेको बताउँदै आएका छन् । यति हुँदाहुँदै पनि ओली दम्पतीविरुद्ध किन विदेशमा लगानी र पैसा लुकाइयो भन्ने आरोप लगाइँदै छ त ? 

पहिलो कुरा त, ओली र उनकी पत्नीको विदेशमा लगानी रहेको भन्ने हवाला फैलाउने ‘ग्लोबल वाच एनालाइसिस’ आफैमा विवादास्पद संस्था रहेको जानकारहरू बताउँछन् । उक्त संस्था र त्यसमा आबद्ध पत्रकार–लेखकहरू ‘सीमापार दुश्प्रचार’ फैलाउने कार्यमा संलग्न रहेको काठमाडौँ पोसिली हाउसका अनुसन्धानकर्ता किरण चापागाईंको विश्लेषण छ । अर्को कुरा, नेपालजस्तो कमजोर जनचेतना र व्यापक सामाजिक सञ्जाल दुरुपयोग भइरहने देशमा यस्ता अफवाह नियोजित रुपमा फैलाउने गरिन्छ । दुर्गा प्रसाई विगतमा ओली निकट नै थिए, तर उनको स्वार्थ पूरा नभएपछि श्रृखंलाबद्ध रुपमा ओलीको दुष्प्रचारमा लागे । 

यस्तै, भारतीय मिडिया र भारतीय संस्थापन पक्ष दुवै ओलीप्रति नकारात्मक रहँदै आएका छन् । ओलीको भारतप्रति झुकाव नहुनु, नाकाबन्दीका बेला डटेर सामना गर्नु र चुच्चेनक्सा ल्याउनुले भारतीय पक्ष उनीसँग नरम देखिँदैन । सोही कारण त्यहाँका मिडियाले पनि दुष्प्रचार गर्ने गरेको पाइन्छ । तर पनि नेपालमा यो विषय पटकपटक सतहमा आउँदा कुनै निकायले अनुसन्धान गर्ने तत्परता भने देखाएका छैनन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update