News 24 Television
पाथीभरा केबलकार विवाद : स्थानीयलाई सहुलियत र प्राथमिकता दिन भट्टराईको माग

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधिन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ जिल्लाका सांसद भट्टराईले यस्तो माग गरेका हुन् । उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भए पनि शान्तिपूर्वक र सुसभ्य हुनुपर्ने समेत बताए ।

केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने उनकाे भनाइ छ । भट्टराईले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द-हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरु रिहा गरी घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गरे ।

केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय समिति निर्माण गर्नुपर्ने उनकाे भनाइ छ । केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारवाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउन माग समेत गरे ।

सांसद भट्टराईले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने समेत बताए । उनले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने र रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग समेत गरे । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको उनकाे भनाइ । पाथीभराको मुख्य मन्दिर भन्दा करिव ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनकाे दाबी छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिबद्धता समेत उनले जनाए । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update