काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी नरहेकाे बताउँदै उनले उक्त दाबी गरेका हुन् ।
बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै ओलीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने बताए । आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भएमा पनि नियन्त्रण गर्ने उनकाे भनाइ छ । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी नभएको बताउँदै ओलीले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन । हुनतः हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरु त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’
प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।