
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाविरुद्धको आन्दोलन तीब्र बन्दै गएको छ । मुक्कुमलुङ संरक्षण संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङलगायतका विभिन्न संघ–संस्थाले केवलकार निर्माण तत्काल रोक्न माग गर्दै आन्दोलित उनीहरुले मंगलबार बन्द हड्ताल नै गरे । मेची राजमार्ग र तमोर करिडोरमा गरिएको बन्दले चार जिल्ला प्रभावित बन्यो ।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार रोक्न माग गर्दै मंगलबारदेखि आन्दोलन तीब्र पारिएको छ । बन्द हड्तालको ओजना गरी आन्दोलनमा उत्रिएपछि जनजीवन प्रभावित भएको छ । मेची राजमार्ग र तमोर करिडोरमा मंगलबार गरिएको बन्दले मेची राजमार्गअन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआली क्षेत्र प्रभावित बन्यो ।
त्यस्तै, तमोर करिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म यातायात सेवा ठप्प भएको छ । मूलघाटबाट धनकुटाको भेडेटार हुँदै धरान र चतरा जोडिने यातायातसमेत प्रभावित छ । बन्दका कारण हजारौं यात्रु प्रभावित भएका छन् ।
अत्यावश्यक सेवा र आपूर्ति ठप्प हुँदा स्थानीय जनजीवन कष्टकर बनेको छ । बन्दले व्यापार र दैनिक कामकाजमा ठूलो प्रभाव पारिरहेको छ । संघर्षरत समूहले पाथीभरा केवलकार निर्माणले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय सन्तुलनमा गम्भीर असर पार्ने दाबी गरेका छन् । पाथीभरा मन्दिर क्षेत्रमा हुने परम्परागत धार्मिक यात्रामा हस्तक्षेप हुने भन्दै पहिचान पक्षधरहरू केवलकार बन्नै नदिने अडानमा छन् ।
संघर्ष समितिहरूले सरकार र परियोजना प्रवद्र्धक आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई केवलकार निर्माण रोक्न पटकपटक आग्रह गरे पनि वेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पाथीभरा केवलकार विवाद समाधानका लागि गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम, र धनकुटाका सांसदहरूसँग छलफलका लागि गृह मन्त्रालयमा बैठक आह्वान गरेका थिए । तर, तत्काल समस्याको समाधानका लागि सरकारले कुनै स्पष्ट योजना अघि सारेको छैन ।
यता, ताप्लेजुङको फुङलिङ नगरपालिकाले बन्द, हड्ताल नगर्न र वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गर्दै केबलकार निर्माण कार्य अगाडि बढाउन सहयोग गर्न आन्दोलन पक्षलाई भनेको छ ।
अगुवा पक्राउ, पाथीभराको विवाद थप जटिल
पाथीभरा केवलकारको विरोधमा सक्रिय ‘नो केबलकार समूह’ का अगुवा एवम् पहिचानवादी नेता प्रदीप मादेनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई मंगलबार बिहान फुङलिङको कोप्चेबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार मादेनले पाथीभरामा भएको झडपमा आन्दोलनकारीहरूको नेतृत्व गरेको आरोप छ । उनलाई पक्राउ गरिएपछि स्थानीयवासी र आन्दोलनकारीहरूबीच थप असन्तोष बढेको छ ।
मादेनको गिरफ्तारीलाई शान्तिपूर्ण संवादको सट्टा दमनमार्फत समस्याको समाधान खोज्न सरकार उद्यत रहेको आरोप लागेको छ । यसले स्थानीय समुदायबीचको असन्तुष्टि झन् चर्काउने सम्भावना रहेको विश्लेषण भैरहेको छ ।
पाथिभरा केवलकारः आवश्यक कि अनावश्यक?
ताप्लेजुङस्थित पवित्र धार्मिकस्थल मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केवलकार निर्माणको विषयले लामो समयदेखि तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो क्षेत्रमा केवलकार निर्माणको विरोधमा स्थानीय समुदाय एकीकृत देखिएका छन् । तर, निजी क्षेत्र जसरी पनि केवलकार बनाउने अडानमा रहेको र राज्यपक्ष निजी क्षेत्रको पक्षपोषण गरिरहेको आरोप स्थानीयले लगाएका छन् ।
विशेष गरी मुक्कुमलुङ क्षेत्र धार्मिक र सांस्कृतिक रूपले अत्यन्त संवेदनशील भएकाले स्थानीय समुदायको सहमति र सहभागिताविना विकासका नाममा थोपारिएका योजनाले विनाश निम्त्याउने उनीहरूको तर्क छ । राज्यले निजी क्षेत्रको पक्षपोषण गर्दै स्थानीयको भावना विपरीतका गतिविधि गर्न खोज्नु निन्दनीय भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
तर, हाल पाथिभरासम्मको यात्रामा कठिन भूगोल, लामो पदयात्रा, र आधारभूत पूर्वाधारको अभाव मुख्य चुनौतीहरू हुन् । यस सन्दर्भमा केवलकार निर्माणको प्रस्ताव अघि सारिएको छ ।
केवलकार निर्माणको पक्षमा मुख्य तर्कहरूमा धार्मिक पर्यटन प्रवद्र्धन, यात्रुहरूको पहुँच सरल बनाउने, र स्थानीय आर्थिक गतिविधिलाई तीव्रता दिने विषयहरू छन् । साथै, केवलकारले स्थानीय रोजगार सिर्जना गर्ने र पर्यटकीय गतिविधि बढाउने विश्वास पनि गरिएको छ । धार्मिक स्थल र विकासबीच सन्तुलन कायम गर्न सरकारको भूमिकामा प्रश्न उठिरहेको छ ।
यो विवाद लम्बँदो समग्र पूर्वी नेपालमा लामो समयसम्म आर्थिक र सामाजिक अस्थिरता निम्त्याउने खतरा छ । यस्तोमा द्वन्द्व समाधान गर्नुपर्ने राज्यपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । शान्ति र समन्वयका लागि राज्यले आफ्ना गलत कदम सच्याउँदै समस्या समाधानका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ ।