News 24 Television
सरकार स्वेच्छाचारी र निरंकुश बनेको प्रचण्डको टिप्पणी

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताएका छन् ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको टिप्पणी गरे । उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रस्तुत हुने समेत बताए ।

वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको भन्दै उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचारीकाे संरक्षक बनेकाे र प्रतिशोध साँधेको आरोप लगाए ।

दाहालले भने, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जवरजस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्नेमहसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं र बोलाउँछौं भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ । हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामुहिक ढंगले कसरि सदनमा प्रश्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ ।  आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिश पनि हामीले गरेका छौं ।’

उनले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तिको आवश्यकता रेहको समेत बताए । केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरतमा लागिपरेको बताउँदै दाहालले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको जिकिर गरे । आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत उनकाे जिकिर छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update