काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।
काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाटै सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको पाण्डेले बताए ।
उनले भने, ‘मन्त्रीज्युले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ । त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरुको लागि महत्वपूर्ण हो । यो संसदमा गम्भीर ढंगले प्रश्न उठाउँछौँ ।’
प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताए ।
तर काँग्रेसका प्रमुख सचेतक घिमिरेले भने माओवादीका प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको भन्दै खण्डन गरेका छन् । उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको बताएका छन् ।
आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको उनकाे भनाइ छ ।
घिमिरेले भने, ‘संसदको सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्नेकुरा भन्नुभयो भन्नेकुरा सुनेँ । हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसदमा असाध्यै धिमा गतिमा भयो । हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ । कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुप¥यो । यो मैले भनेको कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो ।’
उनले कुनै पनि विधेयक संसदमा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्ने कुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए ।