काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक सन्तुलनमा संकट देखा पर्न थालेको छ । पार्टीको निर्णयमा एकताबद्ध बन्ने देखिएपनि कांग्रेस नेताहरुले प्रश्न भने गरिरहेका छन् । यस्तोमा एमालेभित्रको एकमतलाई कांग्रेसले कसरी सही थाप्ला भन्ने चासो देखिन्छ ।
सरकारले अध्यादेश ल्याएपछि यसको पक्ष विपक्षमा बहस छलफल चलिरहेको छ । बहस छलफलको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा उभिन निर्देशनमाथि निर्देशन दिइरहेका छन् ।
कांग्रेसले पटक–पटक बैठक गर्दै अध्यादेशको पक्षमा बोल्न अपिल गर्दै गर्दा कांग्रेस नेताहरुले यसको पालना गर्लान् भन्ने प्रश्न भने जब्बर बनिरहेको छ । यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले अध्यादेशको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिनेक्रमलाई रोक्ने छाँटका६ देखाएका छैनन् ।
यसरी कांग्रेसको मतभेद सार्वजनिक भइराख्दा विकासका गतिविधिलाई तीब्रता दिन अध्यादेश ल्याउनुपरेको प्रधानमन्त्री केपी ओलीको तर्क छ ।
ओलीले यस्तो जिकिर गर्दै कांग्रेसले आफ्नो सरकारलाई राम्रो साथ दिएको जिकिर गरिरहेका छन् । तर, यस्तो स्थिति सिर्जना गर्न देउवालाई भने हम्मेहम्मे परेको बुझ्न कठिन छैन् । संसदीय दलको बैठकपछि नेता रामहरि खतिवडाले अध्यादेशको विषयमा चर्को प्रश्न उठेको बताएका छन् ।
संसदीय दलको बैठक अब कांग्रेसले माघ १८ गतेलाई मात्रै राखेको छ । कांग्रेस सांसदहरुले धारणा राख्नेक्रममा विरोधका स्वरहरु घन्काएपनि देउवाले भने एकस्वरमा निर्देशन दिदै समन्वय र सहकार्यसहित अघि बढ्ने दाबी गरिरहेको देउवालाई उधृत गर्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे बताउँछन् ।
कांग्रेसले संसद सञ्चालनको विषयमा छलफल गरेको भनिएपनि अध्यादेशको विषयमा कांग्रेस सांसदलाई ब्रिफिङ गर्न गैरसांसदलाई भित्र्याइएको भन्दै चर्को आलोचना भएको देखिन्छ । यस्तोमा देउवा विस्तारै आन्तरिक संकटमा फस्ने त होइनन् भन्ने चिन्ता भने देखिन्छ । महामन्त्री गगन थापाले वर्तमान प्रधानमन्त्री ओली, अघिल्ला प्रधानमन्त्रीद्वय देउवा र प्रचण्डभन्दा आफुले राम्रोसँग देश चलाउन सक्ने भन्दै दिएको पछिल्लो अभिव्यक्तिले धेरै अर्थ बोेकेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । यसरी कांग्रेसको गुटहरुमा देखिन थालेका परिवर्तनका विषयले भने शक्ति सन्तुलन लगायतका विषयले कस्तो प्रभाव पार्ला भन्ने चासो उत्रिकै देखिन्छ ।
एमालेमा के होला ?
कांग्रेसमा जस्तो एमालेमा प्रतिपक्षी आवाजहरु बाहिर आउने सम्भावना भने न्यून देखिन्छ । एमालेले भर्खरै गरिरहेका कारबाहीदेखि केपी ओलीको निर्देशनविपरितका कामहरु हुन कठिन रहेकाले पनि एमालेभित्र एकमत रहने सम्भावना बलियो नै हुने देखिन्छ । सरकारको आयुदेखि राजनीतिक स्थिरताका विषयमा प्रधानमन्त्री केपी ओलीले पनि कडा अभिव्यक्ति दिन थालेका छन् । आफू सामान्य विरामी भएको बेला समेत अनेक फण्डा गर्न खोजिएको भन्दै चित्त दुखाएका उनले सामान्य रुघाखोकीले केही फरक नपर्ने भन्दै ट्रोल गर्नेमाथि खनिएका छन् ।
आफ्नो स्वास्थ्यबारेका टिप्पणीमा पनि खुलेर बहस गरिरहेका ओलीले सत्ता हस्तान्तरण समयमै गर्ने र प्रचण्ड नेतृत्वको सरकारले तहसनहस पारेको अर्थतन्त्रलाई उकास्ने काममा कांग्रेस एमालेको समिकरण लागिपरेको दाबी गरेका छन् ।