News 24 Television
पोखराको डेभिज फल्स बल्ल खुलाइयो, पर्यटकलाई अवसरै–अवसर  

कास्की । पछिल्लो समय विवादमा रहेको पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो अर्थात डेभिज फल्सको व्यवस्थापन नियन्त्रणमा लिएको पोखरा महानगरले सोमबारबाट प्रवेश खुल्ला गरेको छ । डेभिज फल्सको गेटमा माघ १ गते महानगरले ताला लगाएको थियो । त्यस पछि स्थानीयले समेत निजी क्षेत्रलाई दिने निर्णयविरुद्ध ताला माथि ताला थपेका थिए । तत्कालका लागि डेभिज फल्स महानगरले सञ्चालन गर्ने राजनीतिक सहमति पछि स्थानीयले यसैमा सहमति जनाएका छन् । 

विवादमा रहेको पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगो अर्थात डेभिज फल्समा भइरहेको अवरोध तत्कालका लागि हटेको छ । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले विवाद समाधान गरि डेभिज फल्स तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । महानगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेभिज फल्स महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्र्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सहमतिको निर्णयसँगै सोमबार बिहान स्थानीय र महानगरका प्रतिनिधिको उपस्थितिमा डेभिज फल्सको गेटमा लागेको ताला खोलिएको छ । छाँगोमा प्रवेश गर्न महानगरले आर्थिक ऐन अनुसार नयाँ टिकट दर  तोकेको छ । विद्यार्थीका लागि ३०, नेपाली नागरिकका लागि ५० र विदेशीका लागि १ सय ५० रुपैया तोकिएको छ । 

छाँगोमा पुराना कर्मचारीबाटै काम गर्ने गरी महानगरले व्यवस्था मिलाएको जनाएको छ । छाँगोको सञ्चालन र व्यवस्थापन २०३४ सालदेखि छोरेपाटन माविले गर्दै आएको थियो । पाताले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएर प्रवेशद्वारमा महानगरपालिकाले माघ १ गतेदेखि सिलबन्दी गरेको थियो । महालेखा परीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगर आफैंले सञ्चालन गर्न लागेको हो । महानगनरले सेती क्यान्योन प्रालिलाई छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालन गर्न ४० वर्षका लागि जिम्मा दिने सम्झौता गरेको थियो । त्यही सम्झौताप्रति स्थानीयले विरोध गरेका हुन् । 

अब छाँगो र आसपासको जमिनसहित छाँगोदेखि फेवा बाँधसम्मको १ दशमलव ५ किलोमिटर पार्दी खोलाले चर्केको भाग पनि प्रयोग गरिने छ । विद्यालय पनि यस अघि नै महानगरलाई छाँगो सञ्चालन गर्न दिन राजी भइसकेको थियो । विवाद तत्कालका लागि साम्य भए पछि पोखराको प्रमुख पर्यटकीय गन्तब्य १३ दिनको बन्द पछि सोमबारबाट खुल्ला भएको छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update