News 24 Television
पाथिभरा केबलकार विवादको ‘सेफल्यान्डिङ’ के हुन सक्छ ? 

काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विवादले स्थानीय समुदायको भावनात्मक पक्ष र विकासका सम्भावित लाभबीच गहिरो अन्तरविरोध उत्पन्न गरेको छ । यो विवादले नेपालको विकास परियोजनामा देखिने जनसहभागिताको अभाव र स्थानीय स्तरको चासोलाई उपेक्षा गर्ने प्रवृत्तिलाई पुनः एकपटक उजागर गरेको छ । तीन अर्बको लगानीमा केवलकार निर्माण गर्ने आईएमई समूहको योजनालाई लिएर स्थानीय र सरकारका बीचको विवादले उग्रता पाइरहेको छ । 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर चर्किएको विवाद शनिबार भएको झडप र प्रहरीद्वारा गोली प्रहारपछि थप उत्कर्षमा पुगेको छ । विरोध गरिरहेका ‘नो केवलकार’ अभियानकर्ताले सात बुँदे माग राख्दै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगबारदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गरिनेदेखि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई ताप्लेजुङ जिल्लामा निषेध गर्ने भनिएको छ । 

शनिबारको झडप

शनिबार पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी र केवलकारको विरोध गरिरहेका आन्दोलनकारीहरूबीच दुई चरणमा झडप भएको थियो । सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन प्रयास गरे । तर, अवस्था थप जटिल भएपछि आत्मरक्षाका लागि गोली चलाइएको सुरक्षाकर्मीले दाबी गरेका छन् । झडपमा आन्दोलनकारी तीनजना गोली लागेर गम्भीर घाइते भएका छन्, जसको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यसबाहेक, घाइते भएका सातजना सुरक्षाकर्मीको उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भइरहेको छ । घटनामा दुवै पक्षका गरी ४५ जना घाइते भएका थिए । तीमध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्केका छन् । तर, गम्भीर घाइते भएकाहरूको अवस्था अझै जटिल छ ।

प्रारम्भिक विवाद !

शिलान्यासको क्रममा धेरै स्थानीयले यसको प्रभावका विषयमा पूर्ण जानकारी प्राप्त गरेका थिएनन् । सरकारले वा निर्माण कम्पनीले परियोजनाको असर र फाइदाबारे स्थानीय समुदायलाई स्पष्ट जानकारी दिने प्रयास नगर्दा भ्रम र असन्तोष जन्मिएको हो । शिलान्यासको समयमा केही सीमित व्यक्तिहरूले मात्र सहभागिता जनाए । तर, निर्माण प्रक्रिया अघि बढ्दै जाँदा यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वमा पर्ने सम्भावित असरबारे चासो बढ्यो । पाथीभरा क्षेत्र किराँत मुन्धुम धर्म, हिन्दू र बौद्ध तीन धर्मको महत्वपूर्ण स्थल हो । स्थानीय समुदायले केवलकारको निर्माणले क्षेत्रको मौलिकता र पवित्रतामा आँच पुर्याउने तर्क गरेका छन् । विशेषगरी, किराँत समुदायले पाथीभरा मन्दिरलाई आफ्नो धार्मिक परम्परा र आस्थाको केन्द्र मान्छन् । केवलकारले पर्यटनको नाममा यसको आध्यात्मिक महत्वलाई व्यावसायिक र शहरीकरणको चपेटामा पार्ने डर उनीहरूसँग छ ।

विवादको जरा : विकास कि पहिचान ?

आईएमई समूहले पाथीभरा मन्दिरसम्म केवलकार निर्माण गर्न अनुमति पाएपछि विवादको श्रृंखला शुरु भएको हो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको कार्यकालमा यो अनुमति प्रदान गरिएको थियो । यो परियोजनाले फुङ्लिङ नगरपालिकाबाट पाथीभरा क्षेत्रसम्म २.७ किलोमिटरको दुरीलाई केवलकारमार्फत जोड्ने लक्ष्य राखेको छ । तर, केवलकार निर्माणको विरुद्धमा स्थानीय किराँत समुदायले आवाज उठाउँदै आएका छन् । उनीहरुको तर्क छ कि पाथीभरा क्षेत्र किराँत मुन्धुम संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको छ । केवलकार निर्माणले यस पवित्र क्षेत्रको सांस्कृतिक महत्वमा आँच पुग्ने उनीहरुको दाबी छ । किराँत समुदायले केवलकार निर्माणविरुद्ध ‘नो केवलकार’ अभियान चलाउँदै आएका छन् । मुक्लुमलुङ संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिले निर्माण कार्य रोक्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । उनीहरुले स्थानीय समुदायको मर्म र भावनालाई उपेक्षा गरेर सरकारले निजी कम्पनीलाई समर्थन गरेको आरोप लगाएका छन् ।

यस विवादमा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले निजी लगानी बिना केवलकार निर्माण सम्भव नभएको दाबी गर्दै आएका छन् । उनका अनुसार केवलकार निर्माणले धार्मिक पर्यटन प्रवद्र्धनमा झन सघाउ पुग्नेछ । 

यस विवादमा स्थानीय जनप्रतिनिधिहरुबीच स्पष्ट विभाजन देखिएको छ । फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेन र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले पनि केवलकार निर्माण विकासको प्रमुख आधार हुने बताउँदै यसलाई समर्थन गरेका छन् । 

तर, सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान भने दुबै पक्षबीच सहमति नआएसम्म स्पष्ट धारणा लिन नसकिने पक्षमा छन् ।

यो विवादले अदालतसम्मको यात्रा तय गरिसकेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–१ का स्थानीय आइन्द्रकुमार लिम्बूले केवलकार निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । २०७७ फागुन ३ मा दायर यो मुद्दा हालसम्म विचाराधीन छ । केवलकार निर्माणको विरोधमा यसअघि पनि झडप भइसकेका छन् । शिलान्यासका क्रममा पहिचान पक्षधर चन्द्र मादेनमाथि धारिलो हतियारले आक्रमण हुँदा उनको दाहिने हात भाँचिएको थियो । शनिबारको झडपले यस विवादलाई थप गहिरो बनाएको छ । त्यस्तै, कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले केवलकार निर्माणको काम रोक्न माग गरेको छ । 

विकास र पहिचानको टकराव !

पाथीभरामा केवलकार निर्माणको विषयले विकास र पहिचानको बहसलाई थप चर्काएको छ । एकातर्फ, केवलकार निर्माणले स्थानीय अर्थतन्त्र र धार्मिक पर्यटनमा टेवा पुग्ने समर्थकको तर्क छ । उनीहरुको विश्वास छ कि केवलकारले पाथीभरा जाने यात्रुलाई सहज बनाउँदै ताप्लेजुङलाई आर्थिक रूपमा समृद्ध बनाउनेछ । 

तर, विरोधमा उभिएका किराँत समुदायका अनुसार केवलकार निर्माणले पाथीभरा क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई नष्ट गर्नेछ । उनीहरुका लागि केबलकार एउटा विकास परियोजना नभई आफ्नो अस्तित्व र सांस्कृतिक पहिचान नामेट गर्ने थालनी पनि हो । स्थानीयलाई केवलकार परियोजना बाह्य हस्तक्षेपको रुपमा महसुस भइरहेको छ । उनीहरूका अनुसार, पाथीभरा जस्तो सांस्कृतिक र धार्मिक महत्वको क्षेत्रमा परियोजना ल्याउँदा स्थानीय स्वामित्वलाई बेवास्ता गरिएको छ । अर्कोतर्फ, बाहिरी लगानीकर्ताको प्रभुत्वले स्थानीयको हितभन्दा कम्पनीको नाफा प्राथमिकतामा पर्नेछ भन्ने डरले आन्दोलनलाई थप बल दिएको छ ।

यद्यपी यी तमाम् विवादका बीच गत कात्तिक २३ गते पाथीभरा केबलकार निर्माणको शिलान्यास गरिएको थियो । यस परियोजनालाई स्थानीयले सरकारको आडमा वा सरकारको प्रयोग गरेर अघि बढाइएको आरोप लागिरहेका छन् । तर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार परियोजनालाई ‘गेम चेन्जर प्रोजेक्ट’का रूपमा अथ्र्याएका छन् । 

धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित पाथीभरा पुग्न ज्येष्ठ नागरिक, बालबालिका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि कठिनाइ हुने भएकाले केबलकार निर्माण आवश्यक भएको ढकालको दाबी छ । उनले वैदेशिक लगानी भित्र्याउन सरकारले अर्बौं रुपैयाँ खर्च गरिरहेको अवस्थामा स्वदेशी लगानीलाई निरुत्साहित गर्नु गलत हुने तर्क गरेका छन् । उनका अनुसार, पाथीभरा केबलकार परियोजना पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासका लागि दीर्घकालीन समाधानको रूपमा योगदान गर्नेछ ।

पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको योजना २५ वर्षदेखि चर्चा र विवादकै बीच अलमलमा छ । फुङ्लिङ नगरपालिका–११ को काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केबलकारलाई ‘ड्रिम प्रोजेक्ट’ मान्दै यसको निर्माणका लागि ल्हाक्पा सोनाम शेर्पा र आङछिरिङ शेर्पाले अथक प्रयास गरेका थिए । 

विशेषगरी २०७५ सालको हेलिकप्टर दुर्घटनापछि केबलकार निर्माणकार्य थप चुनौतीपूर्ण बन्यो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनले परियोजनाले गम्भीर बहस र विवाद त पायो, तर स्पष्ट दिशा भने पाएन । स्थानीयले धार्मिक महत्वमा असर पर्ने भन्दै केबलकारको विरोध गरिरहे । जबकि यो परियोजनाले ताप्लेजुङको पर्यटन, रोजगार र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना देखाइएको छ । 

केबलकार निर्माणले ज्येष्ठ नागरिक, बालबालिका, र कठिन भूगोलका कारण पाथीभरा पुग्न नसक्ने व्यक्तिहरूलाई सहज बनाउने र ताप्लेजुङलाई समृद्धितर्फ लैजाने अवसर सिर्जना गर्ने तर्क गरिन्छ । तर, यस्तो दीर्घकालीन प्रभाव र स्थानीय समुदायको आस्था र विश्वाससँग प्रत्यक्ष जोडिएको पाभिभरामा केबलकार निर्माण गर्नु पूर्व नै सबैको साझा सहमति र यसले पुर्याउने बृहत्तर फाइदाको बारेमा बुझाउन जति जरुरी छ त्यो भन्दा बढि स्थानीयलाई पाथिभराको मौलिकता, सांस्कृतिक तथा धार्मिक पक्षलाई एक इन्च पनि तलमाथि नहुने विषयमा पनि ग्यारेन्टी दिनैपर्छ । अन्यथा यो विवादले निश्चित समुदायको आस्था र विश्वासमाथि प्रहारमात्रै गर्दैन, चिरकालसम्म विवादको श्रृंखला जिवितै रहिरहनेछ । 

 


 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update