News 24 Television
संसदमा सिंगो सत्तापक्ष एकताबद्ध हुने सत्तारुढ दलहरूकाे निर्णय

काठमाडाैँ । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रुपमा लिएको बताए । अध्यादेशले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको उनले जानकारी दिए ।  संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको उनले बताए ।

बर्तौलाले भने, ‘यो बैठकको मुख्य उद्देश्य भनेको १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ । हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो । सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रुपमा एउटा सकारात्मक सन्देश संप्रेषण गरेको छ । निजी क्षेत्रलाई उत्साहित बनाएको छ । यसमा पनि छलफल भएको छ । सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन । संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने । हामीले शालिनताका साथ संसदलाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसदलाई बढी भन्दा बढी कानून निर्माणको थलोका रुपमा विकास गर्न छलफल भएको छ ।’

उनले १८ गतेको संसदको बैठकमा प्रधानमन्त्रीसहित शिर्ष नेताहरुले सम्बोधन गर्ने र संसदको काम कारबारुमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको बताए । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update