काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बुढानिलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ ।
कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमका बीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वस व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्याेगी व्यवसायीहरुको सुझावको आधारमा भएको बताए । उनले व्यापारिक केन्द्रले कृषिजन्य वस्तुको आयातमा कमी आउने दाबी समेत गरे ।
उनले भने, ‘यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाले काम गरौं भन्ने लागेको मात्र होइन । हाम्रो देशको अर्थतन्त्र र उद्योगी व्यवसायीहरुको सुझाव तथा गाउँघरमा देखिरहेको बाझोपन देखेर यो व्यापार केन्द्र स्थापना गरिएको हो । हामीले हाम्रा अग्रजहरुको समेत सुझावको आधारमा यो एउटा उपयुक्त माध्यम हुन सक्छ भन्ने लागेको हो ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले उपलब्ध प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न सके मुलुक आत्मनिर्भर बन्नसक्ने बताए । उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्पदा हुँदाहुँदै कृषिजन्य वस्तुको आयात हुनु विडम्बना रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘यो देशमा यस्ता सम्पदाहरु छन् जसको सही सदुपयोग गर्ने हो भने मुलुक आत्मनिर्भर बन्न सक्छ । अहिले सबैभन्दा ठूलो विडम्बना के छ भने यति धेरै सम्पदा हुँदाहुँदै पनि हामी आयातमुखि देशको बन्नुपरेको छ । निर्यातमुखी होइन आयातमुखी । कृषिसँग जोडिएका थुप्रै वस्तुहरु हामी आयात गर्ने गर्दछौं । यदि हामीले मेहेनत र राज्यले प्रोत्साहित गर्ने हो भने सहिदहरुको नीति अवलम्वन गर्ने हो भने कृषिलाई नेपालको अर्थतन्त्रको आधारशीला बनाउन सकिन्छ । यदि राज्यको ध्यान दिएर लगानी लगाउने हो भने उत्पादन गर्न किसानहरु उत्साहित हुन सक्दछन् । किसानको उत्पादनको जिम्मेवारी राज्यले बोक्नुपर्छ ।’
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्राकृतिक वस्तुको उत्पादान र वितरणको स्वामित्व कसले लिने भन्ने विषय नै आजको विश्वको मुख्य लडाई भएको बताए । अहिलेको समाजले प्रकृतिको सदुपयोग गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । कम्युनिष्टहरुले जनताको आवश्यकताअनुसार वस्तुको उत्पादन र वितरणको स्वामित्व लिने गरेको समेत उनले स्मरण गराए ।
सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ ।