News 24 Television
झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती 

झापा । चिसो बढ्न थालेसंगै झापामा जनजिवन प्रभावित हुन थालेको छ । झापासहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको हो । 

विहानैदेखि वाक्लो हुस्सु संगै चिसो हावा पनि चलेका कारण झापामा जनजिबन थप प्रभाबित हुदैँ गएको छ । । जाडो बढेकोले दैनिक दिनचर्यामा समेत समस्या हुन थालेको छ । 
  
झापामा जाडो बढेपछि खासगरी बालबालिका, वृद्धवृद्धाहरु र दीर्घरोगी बिरामीहरुलाई बढि समस्या परेको छ । विगत एक साता पहिले घाम लाग्दा सामान्य बन्दै गएको मौसममा पछिल्लो एक साता अघिदेखि एक्कासी परिवर्तन भई अत्यधिक शीतलहरसँगै चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो । 

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार चिसोेका कारण झनै समस्यामा परेका छन् । चिसो अत्याधिक बढेसंगै सर्बसाधारणहरु न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । चिसोले अतिविपन्न, असहाय र पिछडिएका समुदायबाहेक बालबालिका र जेष्ठ नागरिकलाई कष्ट भइरहेको छ ।

चिसो बढेपछि जिल्लामा बिरामीको संख्या बढ्दै गइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । अहिले चिसोको कारण रुघा, मर्की, खोकी, ज्वरो, झाडाबान्ता लगायत दम, प्रेसर जस्ता समस्याका कारण बिरामीहरु अस्पतालदेखि स्थानीय स्तरका क्लिनीक तथा फार्मेसीहरुमा समेत उपचार गराउन पुगिरहेका छन् । 

चिसोकै कारण बाहिर निस्कन समेत कठिनाई भइरहेको छ । झापाका बजार तथा ग्रामिण वस्तीहरुमा चहलपहलमा समेत कमि देखिएको छ । ज्याला मजदुरी गरेर खाने वर्ग चिसोका कारण काममा समेत जान सकिरहेका छैनन् । चिसोबाट जोगाउन स्थानीय पालिकाहरुले केही न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update