
काठमाडौं । याक्थुङ लिम्बूहरुको आस्थाको केन्द्र मुकुम्लुङ (पाथीभरा देवी) मन्दिरमा केवलकार निर्माण गर्ने विषयको विवादका कारण अहिले उक्त क्षेत्र अस्तव्यस्त बनेको छ । मुख्यतः मुकुम्लुङ पाथीभरामा केवलकार निर्माण गर्ने विषयप्रति स्थानीय समूदायले घोर विरोध गर्दै आएका छन् । स्थानीय लिम्बू समूदाय र पहिचानवादी पक्षधरहरुले ३ वर्षदेखि नै यसको विरोध गर्दै आएपनि जबरजस्ती रुपमा केवुलकार निर्माणको थालनी भएपछि मुक्कुम्लुङ संयुक्त संघर्ष समिति नै बनाएर ‘नो केवलकार’को आन्दोलनसमेत चर्किरहेको छ ।
शनिबार मात्रै मुकुम्लुङ संरक्षण समिति पक्षधर र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरि २५ जना घाइते भएका छन् । उक्त आन्दोलनमा प्रहरीले ‘नो केवलकार’ पक्षधरमाथि गोलीसमेत चलाएको थियो । सो क्रममा केवलकार खारेजी पक्षधर ५ घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उता सुरक्षाकर्मीतर्फ भने २१ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।
विमत्तिकाबीच केबलकारको बेस स्टेशन निर्माणको काम थालिएपछि केवलकार खारेजी गराउने पक्षधरले आइतबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको थियो । तर त्यसलाई विफल पार्न भन्दै प्रशासनले शनिबार नै पाथीभराको माथिल्लो फेदीमा प्रहरी खटाएको थियो । उक्त क्षेत्रमा घरेलु हतियार सहित आन्दोलनकारी रहेको सूचना पाएपछि प्रहरी खटाइएको प्रशासनको दावी छ । प्रहरी पुग्नेवित्तिकै नो केवलकार पक्षधरले ढुंगामुढा र गुलेली हानेपछि अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । तर उता ‘नो केवलकार’ पक्षधरले भने आफूहरुले शान्तिपूर्ण आन्दोलनको लागि प्लेकार्ड बनाइरहँदा प्रहरीले दममनकारी तवरले प्लेकार्ड च्यात्ने र गाउँबाट आएकाहरुलाई लात्ताले हान्ने जस्ता गतिविधि गरेपछि तनाव सृजना भएको दावी गरेको छ । यसपछि शनिबार मात्रै दुई पटक झडप भएकामा दोस्रो पटक भने ठूलो संख्यामा प्रहरी आएर गोली नै फायरिङ गरेको थिायो ।
केवुलकारको विरोध किन ?
भौगोलिक कठिनाइँ र दुरदराजका दर्शनार्थीका लागि पाथीभराजस्तो शक्तिशाली देवस्थलमा पुग्न केवुलकारले ठूलो सहायता दिन्छ । यदी केवुलकार बनेमा दर्शनार्थीहरुलाई छरितो र दर्शनका लागि सहज हुने निश्चित नै छ । पाथीभरा देवस्थल पुग्न केवुलबार निर्माण गर्न लागिएको स्थानदेखि करिब २.७ किमीको उकालो यात्रा गर्न कम्तिमा ३ घण्टा लाग्छ । तर केवुलकार बनेमा भने १० मिनेटमै पाथीभरा देवस्थल पुग्न सकिने बताइन्छ । तर उक्त केवुलकार निर्माण गर्दा हजारौँ रुखहरु काट्नुपर्ने हुँदा पर्यावरणको विनास हुने, दर्शनार्थी तत्काल फर्कने हुँदा समग्र ताप्लेजुङकै व्यापार खस्किने र स्थानीयको रोजीरोटी नै गुम्ने मुकुम्लुङ संरक्षण संघर्ष समितिको भनाइ छ । साथै उनीहरुले लिम्बू समुदायको आस्थाको केन्द्र रहेको मुकुम्लुङ पाथीभरालाई व्यापारिक केन्द्र बनाउन नहुने पनि तर्क गरिरहेका छन् ।
सरकारी योजना नभइ प्राईभेट कम्पनीले सिमित पुँजी पत्तिका लागि व्याक्तिगत स्वार्थ पूर्ती गर्न मात्रै केवुलकार निर्माण गरिनु पहिचान र स्थानीय समूदलायको आस्थामाथि प्रहार भएको ‘नो केवलकार’ पक्षधरको दावी छ । उता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गतको लिम्बुवान भोलेन्टियर्सले भने गत शुक्रबार नै एक विज्ञप्ति जारी गर्दै केवलकार निर्माणको विरोध गरेको थियो ।
जसमा भनिएको छ – ‘मुकुम्लुङ परापूर्वकालदेखि नै त्यहाँका रैथाने लिम्बु जातिको आध्यात्मिक पवित्र शक्ति पुञ्ज हो । पछिल्लो केहि वर्ष यता ऐतिहासिक नाम (मुकुम्लुङ) पुनः स्थापना गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा समेत रिट निवेदन परि मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ । साथै २०७७ सालमा लिम्बुजन्य संस्था र जिल्ला प्रशासन बिच पुनः नामाकरणको विषयमा सहमति नभएसम्म त्यस क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएको सर्वविदित छ । सर्वोच्च अदालतमा विचाराधीन रहेको र ३ वर्ष अघि नै भएको सामाजिक सहमतिलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थको लागि गैर सरकारी (निजी कम्पनी) द्वारा सिंगो एउटा समुदायको आस्था माथि नै प्रहार हुनेगरी केवलकार निर्माण गर्ने योजना र त्यसलाई प्रोत्साहित गर्न शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको क्याम्प नै बनाएर त्यहाँका सर्वसाधारण जनता माथि मानसिक रुपमा भईरहेको बबर्र दमन र पर्यावरणलाईनै असर पुग्नेगरी कथित केवलकारको नाममा भइरहेको अराजक गतिविधिविरुद्ध हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । अन्तराष्ट्रिय महासन्धि १६९ को मर्म अनुरुप जल, जमिन र जंगल माथि स्थानीयको अग्राधिकार र आवाजलाई बेवास्ता गर्दै केहि दलालपुजिपतीको ईशारामा बलपुर्वक कथित केवलकार बनाउने कुरा अत्यन्तै निन्दनीय र भत्र्सनापुर्ण रहेको छ ।’
मुख्यतः स्थानीय लिम्बू समुदायको आस्था र आध्यत्माको केन्द्रसमेत रहेको मुकुम्लुङ पाथीभरालाई नीजि कम्पनीमार्फत केवुलकार निर्माण गरेर व्यापारिकरण गर्न लागिएको भन्दै त्यसको विरोध भइरहेको हो । हाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुम्लुङ केबलकार प्रालिले केबुलकार निर्माणकार्य थालेको हो ।
पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थलको रुपमा लिइन्छ । जसका कारण उक्त समुदायले यस क्षेत्रलाई आफ्नो संस्कृतिक सम्पदाकै रुपमा यथावत् राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका हुन् । आन्दोलनकर्ताहरुले केवलकारको साटो पाथीभरा पुग्नुअघिको तल्लो फेदीसम्मको सडक व्यवस्थित गर्न भन्दैे माग पनि गरिरहेका छन् ।