समुन्द्र सतह बाट ३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक गौरीशंकर हिमाल लगायत अत्यन्त मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न पाउने नजिकको तीर्थस्थल भएकोले अचेल सो स्थान आकर्षक पर्यटन गन्तब्य भएको छ ।
जसरी दोलखाको भीमेश्वरको शिला मुनिको पवित्र निर्मल कुण्डमा सधै जल हुनु रहस्यमय छ त्यस्तै त्यत्रो उचाइमा रहेको कालिन्चोक टाकुराको महाकालीको सानु मन्दिरको रुपमा रहेको कुण्डमा बाह्रै महिना जल हुनु अत्यन्त रहस्यमय छ । बिगतमा बुढापाकाहरु दोलखा शहर स्थित भीमेश्वरको पवित्र निर्मल कुण्डमा त्यहि कालिन्चोक कुण्डको जल आउँछ भन्थे । हुन् त कालिन्चोक भन्नासाथ् कालीको बासस्थान भन्ने बुझिने भएकोले महाकाली हो कि भगवती भन्ने प्रश्ननै निरर्थक छ ।
दोस्रो, देबी दुर्गा, देबी काली र देबी भगवती भगवान महादेवका अर्धाङ्गिनी पार्वतीकै अर्को नाम हुन् या रुप हुन् । पौराणिक कथा अनुसार देवी भगवतीलेनै बिभिन्न रुप धारण गरेर शक्तिशाली दुष्ट दानबहरुको बद गरेर संसार लाई आतंक बाट मुक्ति दिलाएका थिए ।
यो अर्थमा पनि महाकाली कि भगवती भन्ने बिवाद गरिरहनु पर्ने जरुरी देखिँदैन । तर यी देबिहरुको आ–आफ्नो अस्तित्व र आ-आफ्नो भूमिका भएको र यहि कारण मन्दिरहरु पनि बेग्ला बेग्लै भएकोले कालिन्चोक देबी महाकाली हुन् कि भगवती भन्ने तर्क उठ्नु स्वाभाविक हो ।
कालिका पनि भनिने काली हिन्दुहरुको देबिहरु मध्य प्रख्यात देबी हुन् । रगत , मृत्यु र बिनास संग सम्बन्धित देबी कालीको भयाबह रुप लाई ब्रह्माण्डको माताको रुपमा पुजा गरिन्छ । पौराणिक कथाहरुमा देबी दुर्गाले रक्तबिज दानब लाइ पराजित गर्न कालीको रुप धारण गरेको प्रसङ्ग आउँछ । आफ्ना भक्तजनहरुको रक्षा गर्ने र दुख बाट मुक्ति दिलाउने माता काली भगवान शिवकी अर्धाङ्गिनी हुन् ।
स्थान अनुसार कालीको आठ देखि बार् किसिमका बिभिन्न रुपको बर्णन गरेको पाइन्छ जसमा मुख्य हुन् । भद्रकाली, गुह्यकाली , रक्तकाली, अध्यकाली, सिद्धिहाली, दक्षिणकाली र महाकाली आदि ।
महाकाली लाइ पांच वा दस टाउको भएकी, कालो बर्ण भएकी र बिभिन्न हतियार बोकी राखेकी देखाउने गरिन्छ । महाकालीको प्रत्यक टाउकोमा तिनवटा आँखा हुन्छन । महाकाली भनेको देबी कालीको ठुलो रुप हो र उनलाई उच्च आदर स्वरूप महाकाली भनिएको हो ।
स्कन्द पुराण अनुसार शिवको आदेश अनुसार सर्वव्यापी बिनासको बेला संसारको बिनास गर्न देबी कालीले महाकालीको रुप धारण गर्छिन । स्वस्थानी ब्रत कथामा सतीदेबीले आगोमा हामफालेर प्राण त्यागे पछी दक्षप्रजापतिको यज्ञ बिथोल्न शिवले बिरभद्र र महाकाली लाइ आह्वान गरेको प्रसंग आउँछ ।
अतस् शिबका पत्नी पार्वतीले दुर्जनहरुको संहार गरेर निर्दोषहरुको रक्षा गर्न लिने बिभिन्न रुप मध्य एक महाकाली हो ।
देबि काली लाइ अक्सर भगवान शिवको छातीमा आफ्नो दाहिने खुट्टा राखी राखेको देखाइन्छ । पौराणिक कथा अनुसार कालीले धेरै दानबहरुको बद गरिसकेपछि पनि अनियन्त्रित रुपमा बिनास गर्न जारिराखिन । विष्णुले उनलाई शान्त पार्न कोशिश त् गरे उनको क्रोध शान्त पार्न विफल भए ।
कालीले सम्पूर्ण ब्रह्माण्ड ध्वस्त नपारी छोड्दैन भनेर देवताहरु भयभित भएको देखेर शिबले उनलाई रोक्ने यौटै मात्र उपाय देखे । शिब युद्ध मैदानमा पल्टे जसले गर्दा महाकालीले शिबलाइ टेकेर मात्र अगाडी जानु पर्थ्यो । कालीले आफ्नो पति शिब लाइ आफ्नो खुट्टा मुनि देखेपछि उनले आफुले सिमा नाघेको महशुस गरिन ।
आफुले गरेकी बिनासका लागि उनलाई ठुलो दुस्ख लाग्यो र उनको क्रोधलाई शान्त पार्दै उनको रक्तरंजित जिब्रो मुख बाट बाहिर झुन्डियो । कसै कसैले यो कार्य लाई शिबले आफ्नो ‘अहम’ त्यागेर कालीको खुट्टामा परेको र उनको अनुग्रह प्राप्त गर्ने कोशिस गरेको हो भन्ने गरेका छन् ।
कालिन्चोक लाइ नेपाल पर्यटन बोर्ड “ कालिन्चोक भगवती माई “ नमस्ते नेपाल एंड वेलकम टु दोलखा) , लगायत दोलखाली संस्कृतिका ज्ञाताहरुले ”कालिन्चोक भगवती “ यज्ञकुमार प्रधान, “दोलखाको सांस्कृतिक सम्पदा”, “कागे अष्टमीको अगिल्लो दिन ड्वाकुछें टोलका मानिसहरु गरगहना बोकेर बोका सहित विशेष पूजा गर्न कालिन्चोक “भगवती”मा जाने गर्दछन् (तिर्थनारायण जोशी “पर्यटन बिकासमा दोलखाका चाडपर्बहरु” सबैले कालिन्चोक भगवती भनेर लेख्ने र प्रचार गर्ने गर्छन ।
तर प्राप्त प्रमाणहरुको आधारमा यो गलत धारणा देखिन्छ । किनकि एक पुरानो दुर्लभ पुस्तक “नेपाल देशको इतिहास संग्रह” मा यस्तो लेखेको पाइन्छ – “नेपाल देशका देवताहरुमा चारवटा काली छन् – गुह्यकाली, वत्सला , दक्षिणकाली र महाकाली । महाकाली भनेको कालिन्चोक हो” । त्यसैले नाम अनुसार नै कालिन्चोक भगवती नभएर देवी महाकाली हो र देवी महाकालीको बासस्थान कालिन्चोक हो भन्ने सहजै अनुमान गर्न सक्छौ । योगी नरहरीनाथका अनुसार (हाम्रो देश दर्शन) “ महिषासुर , रक्तबिज प्रभृती असुरहरुको संहार गरेको छेत्र कालीको रणस्थल कालिन्चोकको नामले प्रख्यात छ” ।
शायद गीत त् हो भनेर मानिसहरुले ध्यान नदिएका होलान लोक गायक कुमार बस्नेतले २०२२र२३ साल तिरनै आफ्नो गीतमा कालिन्चोक लाई कालीमाता हो भनेर यस्तो गीत रचना गरेका कुरा :
“कुखुरा काटी भोग दिउँला , मोहर राखी ढोग दिउँला,
कान्छीलाई चाँडै फकाई देउ, कालिन्चोकी माई ।
सोलुको भोटे खुम्बुको राइ , दोलखाला भीमसिन तामेला छाई,
कालिन्चोकमा कालीमाई , कन्याकेटी जुराई देउ, कालिन्चोकी माई ।
दोलखाका सांस्कृतिक सम्पदाका ज्ञाता यज्ञकुमार प्रधानले “ कालिन्चोक भगवती’ शीर्षक राख्नु भए पनि कालिन्चोक देबी काली हो भन्ने पुस्टि गर्दै यौटा हिन्दु धर्मग्रन्थ “सप्तशती चण्डी” मा समाबिस्ट एउटा पौराणिक कथाको प्रसंग जोड्नु भएको छ ।
कथा अनुसार ”एकपटक दानबहरुले देवताहरु र मानवजाति माथि अत्याचार गरेर अत्यन्त दुस्ख दिन थाले । सो कार्य असह्य भए पछि देवताहरु देवी पार्वतीको शरणमा गएर दानबहरुको अत्याचार बात मुक्त गरि दिन प्रार्थना गरे । देबि पार्वती प्रसन्न भएर दानबहरुको बद गर्न क्रममा घमासान युद्ध भयो ।
दानब सेनामा एकजना रक्तबिज नाम गरेका दानब थिए जसको रगतको थोपा जमिनमा खस्ना साथ् एकजना दानब उत्पति हुन्थ्यो । यसले गर्दा दानबहरु लाई पराजित गर्न हम्मे हम्मे पर्नथाल्यो। त्यसैले रक्तबिजको बद गर्न देबि पार्वतीले आह्वान गरे अनुरुप देवी काली उत्पन्न भएर रक्तबिज लगायत दानबहरुको बद गरेकी थिइन् । त्यही “काली” को उद्गमस्थल कालिन्चोक टाकुरा हो भनिन्छ” ।
कालिन्चोक महाकालीनै हो भन्ने तर्क लाई बलराम श्रेष्ठले आफ्नो एक लेखमा “कागेष्टमी”, २०७१० स्पष्ट पार्नुभएको छ ( “कालिका भगवती (कालिन्चोक) मा भाद्र शुक्ल कागेष्टमी र जनैपूर्णिमाको दिन कालिका देवीको विशेष पूजा गरिने परम्परालाई कागेष्टमी गुठी भनिन्थ्यो ।
कालिन्चोकमा कालिकाको मूर्ति नभई एउटा जल कुण्डलाई नै कालीको प्रतीक मानिएको छ । धेरैपछि २०५२ साल र २०६१ सालमा मात्र उक्त परिसरमा भक्तजनले कालीको र भगवतीको प्रस्तर मूर्ति स्थापना गरेका थिए ।
“जल कुण्डको भित्ताको खोपामा “कालिकाको मूर्ति” मुकुट तथा अन्य गर–गहणाहरूलाई बक्स्याई आह्वान गरी पूजा गरिन्थ्यो । उक्त कुण्डमा बली पूजा गर्न नहुने भएकोले कुण्डको पूर्व तर्फ डुंगाको गणेश मुर्तिमा एउटा पाठी र एउटा पाठा बली पूजा गरिन्थ्यो । बक्स्याइएको गर(गहणाहरू लाइ कागेष्टमिको अपरान्हतिर सिंगारीएको खटमा रथारोहण गराई चार जनाले बोकेर दोलखा ल्याउँथे। “ यसैगरी जनैपूर्णिमाको दिन दाफा खलक संगसंगै खटमा “कालीको गहणा” सजाएर कालिन्चोक जाने र आउने गरेका थिए । चरिकोट देखि भने “महाकाली”का नाच पनि नचाउँदै दोलखा परिक्रमा गराउने परम्परा थियो ।
जनश्रुति अनुसार कागेष्टमीमा देबि कालीको विशेष पूजा गर्ने परम्परा बि.सं. १८२६ तिर कालिन्चोकमा गाईगोठ राख्ने गरेका ड्वाकुछें टोलका मणिशंकर नामका ब्यक्तिले प्रारम्भ गरेका थिए । उनले बाटोमा पाएका गहनाको पोको कालिन्चोक माताले दिएको भनेर घर लगेर त्यसको नित्य पुजा गर्न थाले पछी उनि धनी भएका थिए ।
सोहि कारण उनले सबैको सल्लाह अनुसार सो जात्रा चलाएका थिए । पछि गएर आर्थिक अभाबको कारणले यो परम्परालाई कायम राख्न कठिन भएकोले मणिशंकरका वंशज गुठियार स्व। टिकाबहादुर श्रेष्टले बि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमसेरमा विन्ती चढाउँदा यो परम्परालाई कायम राख्न बार्षिक १४ श्र दोलखा माल बाट पाउने आदेश दिएका थिए जुन पछि रु ८०० सम्म पुगेको थियो ।
सो रकम बाट जेनतेन गुठी संचालन हुँदै आएको थियो जुन बि।सं। २०२३ सालमा दोलखा सहरमा भिषण आगलागी हुँदा ति गहनाहरू नष्ट भयपछि कालिन्चोकको एउटा साँस्कृतिक महत्वको परम्परा लोप हुनपुग्यो । प्रत्यक बर्ष हिले जात्रामा चतुर्दशीको दिन दोलखाका तल्लो टोल र माथिल्लो टोल बाट दुइ समुह दाफा खलक कालिन्चोक गएर महिषासुर लगायत दानबहरुको बद गर्न कालिन्चोक महाकालीको बरदान मागेर भोलिपल्ट जनै पूर्णीमाको दिन फर्केर बाजागाजा सहित शहर परिक्रमा गर्छन ।
कालिन्चोकको गैरी, मेहले, कुरी, टुटान, थामी देउराली लगायत धेरैजसो छेत्र खर्कको रुपमा राखिएको दोलखा शहरबासिहरुको गुठी जग्गा हो । त्यहाँ गोठ राखेर बसेका मोहीहरु बाट प्राप्त आम्दानीले दोलखा शहरको घण्टाकर्ण पर्वको गुठी संचालन गर्ने र भिमेस्वर र त्रिपुरासुन्दरीको पुजा गर्ने चलन थियो ।
सो प्रथा लाई बि.सं. १८८६ मा राजा राजेन्द्र बिक्रम शाहले दोलखा शहरका ड्वाकुलुङ्गा , द्वाकुछें, पिंगल , कोर्छें, बिहार्छें र गुर्कोट टोलका गुठियारहरुको नाममा लाल मोहर गरि थामी दिएका थिए ।
कालिन्चोक महाकाली दोलखाबासिहरुको इस्ट देवता हो । बिगतमा दोलखाका नेवारहरूनै त्यहाँका पूजारी थिए । दोलखाका पुजारी सधै त्यहाँ नबस्ने भएपनि हिले जात्राको अवसरमा चतुर्दशीको दिन र जनै पूर्णीमाको दिन टाढा टाढा बाट बलि पुजा गर्न भक्तजनहरुको भीड लाग्ने भएकोले दोलखाका नेवारहरु गएर पुजा गरिदिन्थे र सो कार्य गरे बापत बोकाको टाउको र गर्दन प्रसाद दिने चलन थियो ।
यहिकारण धेरै जसो दोलखा शहरका बासिन्दाहरु प्रत्यक बर्ष जसो कालिन्चोक माईको दर्शन र बोका , भाले लगायत बली दिएर पूजापाठ गर्न जाने गर्थे । कालिन्चोक क्षेत्रको खर्कहरूमा पहिले दोलखाका नेवारहरूले पनि गाई गोठहरू राख्थे। स्व. लाल बहादुर जोशीले आफ्नो डायरीमा लेखिराख्नु भए अनुसार “ बि.सं. १९७८ अघि उहाँका बाजे काजिमान जोशीले गोठमा प्रसस्त गाइभैसी पाल्नुभएको थियो जुन गोठ बर्षामा लेखको कालिन्चोक खर्क सम्म र हिउंद लागे पछी कालिन्चोक बाट तलतल झार्दै मार्बुबेंसी सम्म पुरयाइन्थ्यो” ।
तिर्थनारायण जोशीका अनुसार दोलखामा घण्टाकर्ण पर्व सञ्चालन गर्न कालिन्चोकको उपरोक्त खर्कहरु बाट प्राप्त आयस्ता बाट गुठीको व्यवस्था गरीएको थियो । सो अनुसार दोलखाबाट गएका गुठीयारहरुलाई मोहिहरुले बोका, पाठी, एक दिनको दूध, घ्यु दुइ टिन, दही, आलु आदि गुठीको निम्ती दिने गर्दथे ।
गुठीयारहरुले कालिन्चोक देबिमा पाठी पूजा गरेर फर्कन्थे । दोलखा आएपछि घ्यु बेचेर पूजाको समानहरु लगायत भोज खुवाउन आवश्यक वस्तुहरु किन्थे । यो गुठी प्रत्येक वर्ष दोलखाको ६ थरीहरु मध्येबाट गुठी पालो पर्ने थरीले सञ्चालन गर्छ ।
यसरी कालिन्चोक खर्कबाट आएको आम्दानी बाट गुठी सञ्चालन गर्ने परम्परा वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पछि गुठी जग्गाहरूबाट आउने आयस्ता बन्द भएपछि बन्दभयो । अतः इतिहासमा उल्लेख भए अनुसार कालिन्चोक महाकाली नै हो । त्यसैले अब हामीले कालिन्चोक भगवती भन्न छोडेर कालिन्चोक महाकाली भन्नु नै उपयुक्त हुन्छ ।