
काठमाडौं । फिर्के खोलाको खोलाघर क्षेत्रभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकालाई कानूनी बाटो खुलेको छ ।
खोलाघर भत्काउन महानगरले गत वर्ष कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो । के अब महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न डोजर चलाउने आट गर्ला त ? ।
फिर्के खोलाको खोलाघर क्षेत्रभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन कानूनी झमेलामा परेको पोखरा महानगरपालिका अब भने आफ्नो योजनामा अघि बढ्न सक्ने भएको छ ।
खोलाघर भत्काउन महानगरले जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो ।
महानगरले फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना पूर्णरुपमा हटाउन २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध परेको मुद्दामा उच्च अदालत पोखराले प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सूचना अनुसारको कुनै कार्य नगर्नू, नगराउनू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यही आदेशपछि महानगरले फिर्केमा काम गर्न पाएको थिएन । न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको इजलासले यही पुस १६ गते उक्त रिट खारेज गरिदिएको छ ।
फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ । राजनीतिक चलखेल र स्वार्थ समूहको चंगुलबाट निकाल्ने पटक पटकको प्रयास असफल भएको थियो । यस पटक फिर्केको मापदण्ड कार्यान्वय गराउन नागरिक स्तरबाट महानगरलाई चर्को दवाव छ ।
महानगपालिकाले गत वर्ष साउन ४ देखि भदौ २ सम्म गरेको फिर्केको नापजाँचमा १ सय ६० संरचना खोलाघरमै बनेको पत्ता लागेको थियो ।लालपुर्जा भएको जमिनसहित खोलाघर समेत मिचेर वा पूरै खोलाघरमा समेत निजी घर, सार्वजनिक भवन लगायत संरचना बनेको महानगरपालिकाको अध्ययनले देखाएको थियो । ३५ वटा संरचना खोलाघरमै स्थायी प्रकृतिमा बनेको भेटिएको थियो भने ९७ अस्थायी तवरका थिए ।
विभिन्न सामाजिक र धार्मिक संस्थाका भवन पनि खोलाघरमै बनेका छन् । अदालतको पूर्ण पाठ आए पछि पहिलो चरणमा खोलाघरका संरचनामा डोजर चलाउने महानगरको योजना छ ।
फिर्केको खोलाघर कतिपय ठाउँमा ३ दशमलव ३ र कतिपय ठाउँमा ४० मिटरसम्म फराकिलो छ । मानवविय अतिक्रमणमा परेको ८ किलोमिटर लामो खोला संरक्षणमा महानगरले दातृ निकायको सहयोगमा फिर्के करिडोर निर्माण गर्ने र पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजना अगाडी सारेको छ ।
फिर्केको गन्तव्य फेवाताल हो । थुप्रै ठाउँमा ढलसमेत फिर्केमा मिसिएको छ । फोहोर र गेग्रानसमेत फिर्केले तालमा पुर्याउदा ताल समेत पुरिदै गएको छ ।