News 24 Television
बैंकमा खतराको अवस्था कस्तो छ ? अर्थमन्त्री र गर्भनर के भन्छन् ? 

काठमाडौं । पछिल्ला दिनहरुमा मुलुकको अर्थतन्त्रको समग्र पक्षले सुधारको गति तीव्र नबनाएको चर्चा एवम् बहस बढेको छ । विशेष गरि नेपालको बैंकिङ् क्षेत्रबारे चिन्ता र चासो बढी रहेका समय सरकार र तालुकदार निकायहरु के भन्छन् त ? 

नेपालको अर्थतन्त्रले सुधारको  गतिलाई तीव्रता दिन नसकेको, अहिलेकै अवस्थामा रहे स्थिति थप कमजोर बन्न सक्ने, सुधारका काममा सरकारको तदारुकता कम भयो, यि र यस्ता विषय अर्थतन्त्रसँग सरोकार राख्नेहरु उठान गरिरहेका छन् । 

अर्थतन्त्रबारे चर्चा र बहस हुँदै गर्दा नेपालको बैंकिङ् क्षेत्रलाई समेत केन्द्रमा राखेर छलफल गरिन्छ । प्रधानमन्त्री, अर्थमन्त्रीदेखि तालुकदार निकाय नेपाल राष्ट्र बैंक समेत प्राय यि नै विषयमा केन्द्रित बनेको देखिन्छ । नेपालको अर्थतन्त्रमा सुधार्नु पर्ने धेरै पक्ष रहेको विज्ञहरुले औल्याइरहेका बेला अर्थमन्त्री पनि सरकार सुधारको पक्षमा लागि परेको बताएका छन् । 

अर्थतन्त्र लगाएत समग्र क्षेत्रमा आफ्नो कामको गति बढाउनकै लागि अध्यादेशहरु ल्याएको दाबी उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको छ । 

मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै उनले अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको दाबी समेत गरेका छन् । समग्र अर्थतन्त्रलाई गतिशिल,चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तिब्रताका साथ सरकार लागिरहेको उनको भनाई छ । 

आन्तरिक र वाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न योजना समेत अर्थमन्त्रीले सुनाएका छन् । 

कस्तो छ त नेपालका बैंक र वित्तीय संस्थाहरुको अवस्था ?

बैंकहरुको वर्तमान अवस्थाबारे विभिन्न विश्लेषण अर्थवृत्तमा भइनै रहेको हुन्छ । कतिले बैंक र वित्तीय संस्था धरासायी भएको भनि टिप्पणी गरिरहेका छन् । तर, तालुकदार निकायका प्रमुख भने यसको खण्डन गर्छन् । 

बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई छ । बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र र बैंकको समग्र अवस्थाबारे यस्तो बताएका हुन् । 

साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको, कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको उनको भनाई छ । 

उनले राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता समेत जनाएका छन् । हल्लाको आधारमा गलत विश्लेषण नगर्न आग्रह गर्दै गर्भनर अधिकारी कर्जा बिस्तारमा लाग्न बैंकहरुलाई सुझाव दिइरहेका छन् । 

बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने गर्भनर मात्रै होइन बैंकर्सहरुको समेत मत छ । सम्बन्धित निकायहरुले समस्या जटिल नरहेको बताइरहे पनि समस्या नै नभएको भने होइन । 

अर्थतन्त्रलाई बलियो बनाउने दीर्घकालीन योजना र कार्यान्वयनमा सरकारको कमजोर अवस्था रहेको टिप्पणी विज्ञहरुको छ । सुधारका काममा तत्काल लाग्नु पर्ने सुझाव अर्थतन्त्र क्षेत्रका जानकारहरु बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update