काठमाडाैँ । महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको कम्पनीले जनाएको छ ।
सिप्रदी ट्रेडिङ्गले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायातलाई हस्तान्तरण गरेको हो । नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताए ।
आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गरेको छ । साथै महानगर यातायातले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराइयाे ।
उपाध्यक्ष खतिवडाले महानगर यातायातले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको पनि उनले बताए ।