
रौतहट । पछिल्लो एक सातादेखि रौतहट जिल्ला लगायत तराई मधेसमा शितलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाक्लो हुस्सु र चिसोको कारण जनजीवन कष्टकर त बनेकै छ, त्यसमाथि सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । बाक्लो हुस्सुको कारण चालकहरुले नजिकैको दृश्य पनि नदेख्दा दुर्घटना जोखिम अन्य बेलाभन्दा उच्च रुपमा बढेको छ । दुर्घटना जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सचेतना अभियान समेत सञ्चालनमा ल्याएको छ ।
विशेषगरी बिहान र बेलुकाको समयमा लाग्ने हुस्सुको कारण तराई मधेशमा सवारी चालकहरुलाई सवारी साधनहरु चलाउन निकै गाह्रो भएकोे छ । बाक्लो हुस्सुका कारण सवारी चालकहरुले सडकमा छुट्याइएको लेन समेत छुट्याउन नसक्दा सवारी चलाउन अप्ठ्यारो परेको चालकहरुको अनुभव छ ।
राजमार्ग र भित्री सडकहरुमा गुड्ने साना ठुला सवारी साधनहरुले नजिकैको दृश्य पनि ठम्याउन नसक्दा सवारीहरु एक आपसमा ठोक्किने, सडकबाट तल झरेर पल्टने, पैदल यात्रुलाईलाई ठक्कर दिने लगायतका दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालकहरु बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१\८२ को पुष महिनासम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन भने ६ सय १० जना सामान्य र ४४ जना गम्भिर घाइते भएका छन् ।
पुष महिनामा मात्रै ६१ वटा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् भने ९० जना सामान्य र ९ जना गम्भिर घाइते भएका छन् । यो अभियान अन्र्तगत सवारी साधनहरुलाई रोकेर सवारी चालकहरुलाई तिब्र गतिमा सवारी नचलाउन, सवारीसाधनमा राखिएका इन्डिकेटर बत्तीहरुको प्रयोग गर्न र सचेत भएर सवारी चलाउन अनुरोध गर्दै आइरहेको छ । हुस्सु र रातको समयमा सवारी साधनहरु स्पष्ट देख्न सजिलो होस् भनेर ट्राफिक प्रहरीले टाँढैबाट टल्किने ‘रिफ्लेक्टर स्टिकर’ पनि सवारी साधनहरुमा टाँस्ने गरेको छ ।
हुस्सुुसँगै शितलहरका कारण सडकहरु पनि चिप्लो भएको छ । यसले गर्दा भनेका स्थानमा सवारी नरोकिने हुँदा पनि दुर्घटना जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
चिसोका कारण हात र खुट्टाले पनि राम्रोसँग काम नगर्दा यस्तोमा सानो लापरवाहीले पनि ठुलो दुर्घटना निम्त्याउने हुँदा चालकहरुलाई सचेत गराउने अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चिसो मौसमा मानव स्वास्थ्यमा पनि समस्या आउने हुँदा सवारी चालकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
चिसो र हुस्सुका कारण अत्यावश्यक काम बाहेक रातीको समयमा मोटरसाइकल तथा निजी सवारी साधनमा नहिँड्न समेत प्रहरीले आग्रह गरेको छ । रौतहटमा भएका अधिकांस सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ ।