News 24 Television
मकवानपुरमा अफ्रिकन स्वाइन फ्लूको आतंक, बंगुर मर्दा किसान चिन्तामा  

मकवानपुर । केही समययता बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण बंगुर पालक किसानहरु मारमा परेका छन् । यो रोग नियन्त्रणका लागि खोप तथा औषधि समेत पाइदैन  । त्यसैले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण किसानहरुले लाखौं घाटा व्यहोर्नु परेको छ ।

मकवानपुरको विभिन्न स्थानीय तहहरुमा पछिल्लो समय अफ्रिकन स्वाइन फिबर रोगले आक्रान्त बनाइरहेको छ । आफ्नो खोरमा पालेका बंगुर ज्वरो आएर थरथर काप्दै भुँइमा ढलेपछि मृत्यु हुने समस्याले मकवानपुरका बंगुरपालक किसानहरु चिन्तित छन् । 

बर्षौंदेखि व्यवसायीक रुपमै बंगुर पालन गर्दै आएका हेटौंडा उपमहानगरपालिका ११ सिमलटारका किसानहरु अफ्रिकन स्वाइन फिबरले यो पेशाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । 

त्यसो त, मकवानपुरमा मात्रै यो रोगका कारण झण्डै २ सयको हाराहारीमा बंगुर मरेको पशु सेवा कार्यालय, मकवानपुरको तथ्यांक छ । बंगुरहरुमा तीव्र रुपले अफ्रिकन स्वाइन फिबर फैलिएसँगै यसको रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न कार्यहरु सञ्चालन गरिएको पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुर बताउँछन् । 

आफ्नो पशुधनको रुपमा रहेको बंगुर मरेर खोर नै रित्तो हुँदा चिन्तामा रहेका किसानहरुलाई पशु बीमा गरे वापत्को रकम उपलब्ध गराउनको लागि समेत पहल भैरहेको यस कार्यालयको दाबी छ । 

मंङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिकामा स्वाइन फिभरबाट १९० बंगुर मरेका छन् । बंगुर मरेपछि काठमाडौंमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update