दाेलखा । दोलखाको मेलुङ गाउँपालिका– १, रमाइलो चोकमा अस्थायी प्रहरी पोष्ट पवटीको स्थापना गरिएको छ । एक विशेष समारोहका बीच मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख शिवराम गेलालको अध्यक्षतामा प्रहरी पोष्टको स्थापना गरिएको हो।
कार्यक्रममा मेलुङ गा.पा.– १ का वडाध्यक्ष ईश्वर कोईरालाले प्रहरी पोष्टको आवश्यकता र महत्वबारे आफ्नो धारणा व्यक्त गरे। त्यस्तै, उपाध्यक्ष गायत्री आचार्यले पनि स्थानीय सुरक्षा व्यवस्थामा यो पोष्टले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरी पोष्टले स्थानीय सुरक्षामा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्र.ना.उ. युवराज खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो। हाल प्रहरी सहायक निरीक्षक शिवहरी अधिकारीको कमाण्डमा पाँचजनाको जनशक्ति खटाइएको जानकारी दिइएको छ।
समारोहमा मेलुङ गा.पा.का प्रायः सबै वडाका वडाध्यक्ष, वडा सदस्यहरू तथा स्थानीय नागरिक गरी करिब १५० जनाको उपस्थिति रहेको थियो। यसले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।