News 24 Television
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत 

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा जोडिएको भन्दै यसअघि विपक्षी दलहरुले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । 

सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएकी ऋषिकेश पत्नी अञ्जला मोरङ जिल्ला अदालतबाट १० लाख धरौटीमा रिहा भइन् । तर अहिले पुनः सार्वजनिक लेखा समितिको सभापति पोखरेललाई पदबाट हटाउन दबाब बढेको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको वचत रकम अपचलन अभियोगमा लामो समय फरार रहेकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जलालाई गत पुस २४ गते मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा छाडिदियो । 

फरार अञ्जलालाई एक्कासी अदालतमा उपस्थित गराएर सोही दिन धरौटीमा छाडिएको थियो । सहकारी ठगी प्रकरण जोडिएकी अञ्जला फरार रहेपछि ऋषिकेशले नैतिकताको आधारमा पद छाड्नुपर्ने दबाब विपक्षी दलहरुले बढाएका थिए । 

अहिले पुनः पोखरेललाई लेखा समितिका सभापतिबाट हटाउन विपक्षी दलहरुले दबाब बढाएका छन् । हिउँदै अधिवेशन बोलाउन ढिला भएको भन्दै विपक्षी दलहरुले दबाब बढाएपछि सोमवार मात्रै सरकारले राष्ट्रपतिलाई अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ १८ गते दिउँसो १ बजेका लागि संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । 

आगामी माघ १८ गतेदेखि शुरु हुने हिउँदे अधिवेशनमा एउटै श्वर निकाल्ने तयारी गरेका विपक्षी दलहरुले संसदीय समितिको बैठकमा पनि दबाब बढाउन थालेका हुन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनीहरुले समिति सभापति पोखरेलको राजीनामा माग गरेका छन् । 

विगतदेखि नै लेखा समितिको सभापति विपक्षी दलबाट हुनुपर्ने प्रावधान राखिएको भन्दै प्रमुख विपक्षी दल माओवादी केन्द्रका सांसदहरुले पोखरेलको राजीनामाको माग गरेका छन् । समिति सभापति विपक्षी दलबाट हुनुपर्ने भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरु मात्र नभई अर्का विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पनि लेखा समिति सभापतिबाट पोखरेलको राजीनामा मागेका छन् । उनीहरुले पनि लेखा समिति सभापति प्रतिपक्षी दलबाट हुनुपर्नेमा जोड दिएका छन् । 

विपक्षी दलहरुले मात्र होइन, कतिपय सत्ता पक्षकै सांसदहरुले पनि विगतदेखिको परम्परा र विश्वब्यापी प्रचलन अनुसार लेखा समिति सभापति पोखरेललाई मार्ग प्रशस्त गर्न सुझाएका छन् । विगतदेखि नै लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको भए पनि विगतमा पनि यो परम्परा तोडिदै गएकोले त्यसलाई सुधार गरि सच्चाउनुपर्नेमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीले जोड दिएका छन् । 

लेखा समिति सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्न विपक्षी दलहरुले जोड दिएपछि समिति बैठकमा समिति सभापति पोखरेल र विपक्षी सांसदहरुबीच चर्काचर्की नै भएको थियो । आगामी हिउँदे अधिवेशनमा साझा मुद्दा बनाएर अघि बढ्ने सहमति गरेका विपक्षी दलहरुले संसदीय समितिको बैठकबाट दबाब बढाउन शुरु गरेका छन् । यसले आगामी माघ १८ गतेदेखि शुरु हुने हिउँदे अधिवेशनमा सरकारविरुद्ध आक्रामक बन्ने संकेत देखिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update