काठमाडौं । भीम रावल एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियानमार्फत राजनीतिमा आउने तयारीमा छन् । एमालेको कारबाहीपछि सुदूरपश्चिम प्रदेशमा एमाले छाड्नेको लर्को नै लागेको भन्दै चर्चा चलिरहेको बेला एमाले नेता कार्यकर्ताहरुको राजीनामाको तरंग किन आइरहेको छ त ?
एमालेले भीम रावलको साधारण सदस्य समेत खारेज गरिदिएपछि मातृभूमि जागरण अभियानमार्फत देश दौडाहामा निस्किएका उनलाई सुदूरपश्चिममा विभिन्न कमिटीका नेताहरुले समर्थन जनाउदै सामूहिक राजीनामा दिनेक्रम बाक्लिएको छ ।
सुदूरपश्चिममा एमालेको लामो समय नेतृत्व गरेका रावलको पक्षमा लाग्ने भन्दै विभिन्न तहका नेता कार्यकर्ताले राजीनामा दिएको दाबी गरिएको छ । यसरी एमालेका विभिन्न तहमा रहेकाहरु १ हजार ८६ जनाले पार्टी छाडेको दाबी गरिएको छ ।
यसमा रमेश बहादुर कुँवरदेखि विभिन्न तहमा रहेका नेताहरु भएको उल्लेख गरिएको छ । भीम रावलले एमाले छाड्दा खास प्रभाव नपर्ने भन्दै एमाले नेताहरुले दिएको अभिव्यक्तिविपरित राजीनामाको क्रम बाक्लिन थालेपछि एमालेलाई सुदूरपश्चिममा धक्का लाग्ने ठानिएको छ । यसैतः एमालेले ०८४ लाई निर्णायक शक्ति बनाउने भनिरहेको छ ।
पार्टीलाई निर्णायक शक्ति बनाउने दाबी गरिरहेको एमालेले धमाधम नेता कार्यकर्तामाथि कारबाहीका श्रृङ्खला बढाएपछि एमालेको महत्वकांक्षामा प्रश्न भने उठ्न थालेको छ ।
यस्तो स्थितिमा पनि एमालेले भीम रावल वा मीनबहादुर गुरुङले दिने भनेको जग्गा दानविरुद्ध बोल्ने जोकोहीलाई कारबाही गर्दा पार्टीको लोकप्रियता घट्ने चिन्ताहरु समेत बढ्न थालिएका छन् ।
सुदूरपश्चिममा रावलको प्रभाव
भीम रावल अछामका हुन् । लामो समयदेखि अछामबाट सांसद बनेका उनले एमालेमा समेत लामो सय सुदूरपश्चिमको नेतृत्व गर्ने मौका पाए । पछिल्लो समय एमाले माओवादी केन्द्रको एकता टुंगिएपछिमात्रै उनी जिम्मेवारीबिहीनताको अवस्थामा छन् । तर, त्योअघि उनले लामो समय पार्टीको नेतृ्त्व गरेकाले उनको प्रभाव त्यहाँ बलियो देखिन थालेको छ ।
एमाले छाड्नेहरुको संख्या समेत बढिरहेको बताइन्छ । यसले भीम रावलले पनि क्षेत्रिय रुपमा बलियो बन्ने संकेत देखाएका छन् । अहिले सदूरपश्चिम एमालेमा माओवादी पृष्ठभूमिका लेखराज भट्टले नेतृत्व गरिरहेका छन् ।
भट्ट आफैले समेत एमाले अध्यक्ष केपी ओलीको शैलीबारे बोलेको भनिएको अडियो सार्वजनिक भएपछि उकुसमुकुस चलिरहेको भन्न थालिएको छ । लेखराजले नेतृत्वसँग कुनै विवाद नभएको दाबी गरेपनि उनले बोलेको अडियोले एमालेमा पूर्वमाओवादी पृष्ठभुमिका नेताहरुले सहज अनुभूत गर्न सकेको भने देखिन्न । यसको प्रत्यक्ष फाइदा पनि उनै रावलले लिने विश्लेषण भइरहेको देखिन्छ ।