News 24 Television
वामदेवमाथि केपी ओलीको अर्को प्रयोग, एमाले ‘सिफ्ट’ सहज होला ? 

काठमाडौं । नेकपा एमालेमा कुनै समय शक्तिशाली रहेका वामदेव गौतम विस्तारै किनाराकृत हुँदै गए । हुनतः २०५१ सालदेखि नै वामदेवको एमालेमा पक्कड नै थियो । उक्त समय एमालेले ९ महिना सरकार चलायो । 

सो बेला वामदेवले केन्द्रीय संगठनलाई गज्जबले हाँकेको भन्दै अझै चर्चा चल्ने गरेको छ । त्यसको केही वर्षपछि नै २०५४ सालमा उपप्रधान तथा गृहमन्त्री बनेका वामदेवले त्यसपछि पनि २ पटक उपप्रधान तथा गृहमन्त्री बन्ने अवसर प्राप्त गरे । 

पछिल्लो पटक वामदेव २०७० सालमा बनेको सुशील कोइराला नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा गृहमन्त्री बनेका थिए । उनले उक्त समय झण्डै दुई वर्ष उपप्रधानसहित गृहमन्त्री रहेर काम गरेका थिए । 

नेकपा विभाजनपछि किनाराकृत 
   
 तत्कालीन नेकपा गठन हुँदा सुरुमा खासै महत्व नपाएका वामदेव गौतमलाई पछि पार्टीको उपाध्यक्ष बनाइयो । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रको एकता हुँदा उनलाई ओली–प्रचण्डले ढिलागरी उपाध्यक्ष र सचिवालय सदस्य मनोनयन गरिएको थियो । तर नेकपा भंग भएपछि भने उनी एमाले र माओवादी दुवैतिर खुलेनन् ।

बरु उनी तत्कालीन नेकपाका नेताहरु केपी शर्मा ओली–पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई एकै बनाएर लैजाने अभियानमा लागे । जसका लागि उनले नेकपा राष्ट्रिय एकता अभियानसमेत चलाए ।

यसपछि गौतमले २०७८ सालमा ओलीमाथि गम्भीर आरोप लगाउँदै एमालेबाट राजीनामा दिएका थिए । तर अभियानमार्फत ओली–प्रचण्ड र माधवलाई एकता गर्ने प्रयास विफल भएपछि उनी अहिले पुन ः एमालेमै फर्किने तयारीमा लागेका छन् । 

बेटुङ्गोका वामदेव

कम्युनिष्ट एकताका लागि संगठन नै बनाएर अघि बढेका वामदेव एकता अभियानलाई छाडेर अहिले एमालेमै फर्किन निर्णयमा पुगिसकेका छन् । पछिल्लो सयम नेकपा एकीकृत समाजवादी प्रवेशको तयारी गरिरहेका वामदेवले एक्कासी एमालेमै फर्किने निर्णय सार्वजनिक गरेपछि उनको राजनीतिले नयाँ मोड लिने भएको छ । जबकी वामदेवले केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादीसँग एकताको संभावना नजिक रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

उता नेकपा एसले एकता गर्ने विषयलाई पार्टी बैठकमै लगिसकेको थियो । एकताका धेरै विषयमा समहति भएपछि नेकपा एसका नेताहरु पनि वामदेवलाई पार्टी भित्र्याउन तयारी अवस्थामै देखिएका थिए । यद्यपि वामदेव गौतमले आईतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वालुवाटारमा छलफल गरेर एमालेमै फर्किने निश्कर्ष निकालेका छन् । यसपछि विभन्न संचारमाध्यमहरुलाई प्रतिकृया दिएका वामदेव आफू बाँकी जीवनभरका लागि एमाले प्रवेश गर्न लागेको बताइरहेका छन् ।

हुनतः वामदेवले यसअघि पनि एमाले प्रवेश गर्ने प्रयास गरेका थिए । यद्यपि अध्यक्ष ओलीले खास महत्व दिएका थिएनन् । तर कतै न कतै स्थान खोजिरहेका वामदेवले नेकपा एससँग एकता गर्ने अन्तिम तयारी गरेपछि ओलीले नेताहरुमार्फत एमालेमा ल्याउन पहल गरेको बुझिएको छ । एमाले प्रवेश गर्ने पक्कापक्की जस्तै भएपछि वामदेवले नेकपा एसमा आफूलाई आशंकाको रुपमा हेरेको आरोप लगाएका छन् । हुनतः नेकपा एसमा वामदेवलाई तेस्रो वरियता दिने सहमति थियो । यद्यपि गौतमले भने संगठन विभाग प्रमुख पनि दिइनुपर्ने र पार्टीलाई (जबज)को मार्गदर्शनमा समाजवादी कार्यदिशामा लैजानुपर्ने अडान लिएको बताइन्छ । 

ओलीको जालमा फस्ने खतरा
    
वामदेव नेकपा एकता अभियानका संयोजक मात्रै होइनन् । उनी राष्ट्रियसभा सदस्य पनि हुन् । यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई दरिलो बनाउने प्रयोजनका लागि मात्रै वामदेवलाई भित्र्याउने तयारी गरेको हुनसक्ने आशंका पनि गर्न थालिएको छ । किनकी राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पहिलो शक्तिका रुपमा खडा भएको छ । 

यो आधारले वामदेव एमालेमा गए ओलीका लागि राष्ट्रियसभामा एक सदस्य मात्रै भएपनि थपिने अवस्था छ । तर ओलीको विश्वासमा परेका वामदेव एक्लै एमालेभित्र कतिसम्म टिक्लान ? भन्ने विषय पनि प्रश्नकै रुपमा उठिरहेको छ ।  किनकी नेकपा एकता अभियानमा वामदेवलाई साथ दिएका चार उपाध्यक्षसहित धेरैजसो केन्द्रीय सदस्यहरु माओवादीतिर लागिसकेका छन् । 

उक्त टोलीले आइतबार नै पत्रकार सममेलन गरेर वामदेवको साथ छोडेको घोषणा र उक्त टोलीले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेका छन् । यो अवस्थामा कमजोर टिम लिएर एमाले जाने तयारीमा रहेका वामदेवले ओलीसँगको सहकार्यलाई कति प्रभावकारी र टिकाउ बनाउछन् ? यो विषय गम्भीर प्रश्नकै रुपमा उठेको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update