News 24 Television
ओली–माधवमा ‘भीम रावल आतंक’, वामदेव पनि भड्किए ! 

काठमाडौँ । नेकपा एमालेबाट निकालिएका नेता डा. भीम रावल यतिबेला मातृभूमि जागरण अभियान लिएर देश दौडाहा छन् । यही क्रममा उनी गत शनिवार गृहजिल्ला अछाम पुगे । दलविहीन भएपछि पहिलो पटक गृहजिल्ला पुग्दा उनको स्वागतमा पूर्ववत् एमालेको चुनाव चिन्ह सूर्य अङ्कित झन्डा कहीँ कतै देखिएन । उनका समर्थकहरूको हातमा राष्ट्रिय झन्डा देखियो । रावल अछाम पुग्दा साँफेबगरमा समर्थकले कोणसभाको कार्यक्रम राखेका थिए । जहाँ राष्ट्रिय झन्डासहित पुगेका समर्थकले नेता रावलको पक्षमा नारा लगाए । ती नारामा पनि रावल पहिले अछाम पुग्दाजस्तो एमालेको जयजयकार गर्ने कुनै नारा सुनिएनन् । बरु एमाले र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा गुन्जिरहे ।

अहिले एमालेमा एकतिर कारबाहीको शृङ्खला चलेको छ भने अर्कोतिर पार्टी परित्याग गर्नेको लर्को लाग्न थालेको छ । रावलको गृहजिल्ला अछाममा त एमालेमा पहिरो नै गएको छ । रावलको मातृभूमि जागरण अभियानमा एमाले अछामका एक हजार ८६ नेता कार्यकर्ताले साथ दिने भएका छन् । 

रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् । त्यसैगरी प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् । 

त्यसैगरी एमालेका अखिल नेपाल महिला संघ कार्यवाहक अध्यक्ष एक, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ र जिल्लाका संगठित सदस्यहरू ६ सय ३७ जना रावलको समर्थनमा उभिएका छन् । एमालेबाहेक अन्य पार्टीबाट ५ जनासहित एक हजार ८६ जना रावललाई समर्थन गर्न पुगेका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा र रावलको एउटा तस्बिरले पनि धेरैको ध्यान खिचेको छ । जहाँ रावल र थापा हवाई जहाजको सिटमा सँगै बसेका छन् । काठमाडौँबाट धनगढी जाने क्रममा देखिएको यो दृश्य सल्लाहले हो वा संयोगवश ? भन्ने प्रश्नले एमालेमा हल्लीखल्ली मच्चिएको छ । थापा ओली निकटकै प्रभावशाली नेता हुन् । तर, पछिल्लो समय ओलीसँग थापाको सम्बन्ध खासै राम्रो नरहेको बताइन्छ । 

रावलको अभियानले एमाले मात्रै होइन, एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई समेत तनाव दिएको छ । पछिल्लो समय नेकपा एसका सयाँै नेता–कार्यकर्ता एमालेमै फर्किरहेका छन् । शुक्रबार मात्रै नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केही केन्द्रीय सदस्यसमेत एमाले निकट पत्रकार संगठन प्रेस चौतारीमा प्रवेश गरेका छन् । यता, नेकपा एस प्रवेश गर्ने निर्णय नै गरिसकेका नेता वामदेव गौतम पनि फेरि एमालेमै फर्कने प्रयासमा छन् । 

यसरी नेकपा एसमा जाने निर्णय नै गरिसकेका गौतमले आइतबार अभियान कार्यसमिति र एमाले अध्यक्ष ओलीसँग छलफल गरेपछि उनी एमालेमै फर्किने निर्णयमा पुगेका हुन् । आफ्ना पार्टीका नेता–कार्यकर्ता एमालेमै धमाधम फर्किरहेको र पार्टीमा आउने निर्णय समेत गरिसकेका वामदेव भड्किरहेको बेला रावलले अभियान चलाएपछि नेकपा एस झनै त्रसित बनेको छ । त्यसो त नेकपा एस पार्टी सानो भएपनि पार्टीभित्र ठूलो असन्तुष्टि छ । 

गत असारमा भएको महाधिवेशनपछि असन्तुष्टि केही मत्थरजस्तो देखिए पनि पछिल्लो समय असन्तुष्टि बढ्दो छ । तर, अध्यक्ष ओलीलाई सक्दो सराप गर्दै पार्टी फुटाएकाले फेरि एमालेमै फर्किए किनाराकृत हुने त्रासले उनीहरू एमालेमा फर्किन सकेका छैनन् । ती असन्तुष्ट नेता तथा कार्यकर्ताहरू रावलको अभियानमा लाग्ने नेकपा एसको बुझाइ छ । यस्तो अवस्थामा नेकपा एसकै भविष्यमाथि प्रश्न उठाउने अवस्था रहेको विश्लेषण भइरहेको छ । तर, नेता रावलले एमाले र नेकपा एसका कति नेता तथा कार्यकर्तालाई आफ्नो प्रभावमा पार्न सक्छन् भन्ने चाहिँ आगामी दिनले नै देखाउने छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update