News 24 Television
विद्युत महशुल बुझाउन सरकारकै मिलेमतोमा सिमेन्टको मूल्य बढाएको आरोप

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनका लागि सरकारसँगको मिलेमतोमा नै बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा पारेको बताए । उनले सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर ४५० रुपैयाँ प्रतिबोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको बताए । सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले निर्देशन दिन आवश्यक उनकाे भनाइ छ ।

सांसद श्रेष्ठले भने, ‘सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको छ । यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ । सिमेन्टमा व्रह्मुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ । विद्युतको रकम बुझाउनको लागि सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरुले मूल्यवृद्धि गरेका छन् । सिमेन्ट व्यवसायीहरुले उपभोक्ताहरुलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन् । अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन् ।’

नेपाली काँग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए । उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नका लागि व्यवसायीले अनलाइन पोर्टल दर्ता गरेको हुनुपर्ने, अरुले दर्ता गरेको फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update