सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको मूर्तिया जंगलमा व्यापक अनियमितता भएको छ । कुनै समयमा ‘हरियो वन नेपालको धन’ भन्ने भनाई निकै प्रचलित थियो । तर अहिले यो उखानमै सिमित भइसकेको छ । पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजना अन्त्रगत मुर्तीया वन बृक्षरोपन शाखाको अवस्था हेर्ने हो भने ‘हरियो वन तस्करको धन’ भइरहेको महसूस हुन्छ ।
सागनाथ वन विकास परिवजना सूरु भयको ४५ बर्ष पूगेको छ । स्थानियका अनुसार तस्करहरूले मूर्तिया वृक्षारोपण शाखाका कर्मचारीहरूसँग मिलेमतो गरी वन क्षेत्रबाट अवैध रूपमा रूख कटान र काठ ओसारपसार गरिरहेका छन् । शाखाका निमित्त प्रमुख रेन्जर चन्द्र मोहन सिंह तस्करीलाई साथ दिँदै आर्थिक लाभ लिएको आरोप स्थानियले लगाएका छन् । रेन्जर सिंहले केही महिनाअघि गस्ती टोलीले समातेका तस्करहरूलाई ६५÷६६ हजार रुपैयाँ लिई बिना कारबाही छुटाइदिएको प्रमाण भेटिएको छ । सो रकम कुनै आधिकारिक दाखिलामा नराखिएको र व्यक्तिगत लाभकालागि प्रयोग गरिएको स्थानीयले बताएका छन् ।
मुर्तीया शाखाकालागि चाहिने फर्निचर बनाउन र वन क्षेत्रको घेरा लगाउन भनेर प्रयोग गरिएको काठमा पनि अनियमितता देखिएको छ । रेन्जर सिंहले सोल्टी गार्ड क्वार्टरमा ढलेका रूखहरूको काठ चिरान गरेको बताएका छन् । तर, पत्राचारमा कुनै आधिकारिकता नभएको र सागनाथ वन विकास परियोजनाका निमित्त प्रमुख शिबेन्द प्रसाद चौधरिलाई समेत जानकारी नगराएको आरोप छ । ज्यालादारी कर्मचारीहरूको खाजा बजेटमा पनि अनियमितता भएको पाइएको छ । कर्मचारीहरूले कम गुणस्तरको खाजा उपलब्ध गराई रकम दुरुपयोग गरिएको ज्यालादारी कर्मचारीहरू बताएका छन् ।
रेन्जर सिंहको व्यवहार र घरमा लामो समयसम्म बस्ने प्रवृत्ति प्रति परियोजनाले कुनै कारबाही नगरेको स्थानीय र कर्मचारीहरूको गुनासो छ । करारका कर्मचारी भएपनि उनको मनपरीलाई रोक्न परियोजना असफल भएको देखिन्छ ।
तर यता रेन्जर सिंहले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै भने मैले शाखाको हितका लागि मात्र काम गरिरहेको छु । लगाइएको आरोप झूठा हुन् ।
सागरनाथ वन विकास परियोजनाले यो विषयमा थप अनुसन्धान गरी उचित कदम चाल्नु आवश्यक रहेको देखिन्छ । अन्यथा, वन संरक्षण र विकासका लागि सुरु गरिएको यो परियोजना भ्रष्टाचार र तस्करीको शिकार मात्र हुनेछ ।