News 24 Television
गाजा युद्धविराम लागू, पहिलो सूचीमा परेनन् विपिन

काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आइतबारदेखि लागू भएको छ । शनिबार इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बीच युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि बिहानदेखि लागू भएको हो । तर पहिलो चरणको ३३  जनाको सूचीमा हमासले बन्धक बनाएका नेपालमा विपिन जोशी भने परेका छैनन् । 

युद्धविराम सम्झौता अन्तर्गत सबै भन्दा पहिला रिहा गर्ने ३ जना महिलाको नाम सार्वजनिक नगर्दासम्म इजरायलले युद्धविराम लागू गर्न अस्वीकार गरेको थियो । इजरायल–हमास विद्रोहीबीचको युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले आइतबार विहान सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो । 

हमासले ३ जनाको नाम सार्वजनिक गरे लगत्तै पहिलो चरणमा छाड्ने ३३ जनाको नाम सार्वजनिक गरेको छ । यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायल रक्षा बललाई आदेश दिएका थिए । स्थानीय समयअनुसार आइतबार विहान ११ः१५ बजेदेखि युद्धविराम लागू भएको छ । 

युद्धविराम अस्वीकार गर्दै सुरक्षामन्त्रीको राजीनामा 

युद्धविराम लागू भए लगत्तै इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् । युद्धविरामको कटु आलोचक रहँदै आएका गिभिरले युद्धविराम लगत्तै राजीनामा दिएका हुन् । यद्यपि गिभिरले सरकार ढलाउन आफूले कुनै काम नगर्ने राजीनामा स्पष्ट गरेका छन् । उनले युद्धविराम आतंकवादीहरूको लागि पूर्ण जित भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

युद्धविरामप्रति असन्तुष्टि जनाउँदै गिभिरसहित इजरायलका ३ मन्त्रीले राजीनामा दिएका छन् । ज्यूइस पावर पार्टीका प्रमुखसमेत रहेका रक्षामन्त्री गिभिरसँगै यित्जाक वासेरलाफ र इमिहाइ इलियाहूले आइतबार विहानै राजीनामा दिएका हुन् । इजरायलको घोर दक्षिणपन्थी न्यूइस पावर पार्टीले युद्धविराम सम्झौताको विरोध गर्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । संसदमा गिभिरको पार्टीको ६ जना सांसद रहेका छन् । 

यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने बताइएको छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ । पहिलो चरणमा इजरायलको जेलमा रहेका प्यालेस्टिनी बन्दीहरु पनि रिहा हुनेछन् ।

इजरायलले ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्नेछ भने त्यसको बदलामा हमास विद्रोहीले ३३ इजरायली बन्धक रिहा गर्नेछन् । युद्धविराम लागू भएसँगै हमासले पहिलो चरणमा रिहा गर्ने ३३ जना बन्दीको नाम आइतबार नै सार्वजनिक गरेको छ । 

३३ जनाको सूचीमा अधिकांश महिला, वृद्धवृद्धा तथा बालबालिकाहरु रहेका छन् । १५ महिनाअघि सन् २०२४ अक्टोबर ७ मा इजारायलमा हमला भएसँगै हमास विद्रोहीहरुले उनीहरुलाई बन्धक बनाएका थिए ।  

विपिन पहिलो चरणमा नछट्ने 

प्यालेष्टिनी विद्रोही समूह हमासले १५ महिनाअघि इजरायलमा हमला गर्ने क्रममा नेपालका विपिन जोशीलाई पनि बन्धक बनाएको छ । 

अघिल्लो पटक भएको युद्धविराममा पनि विपिन मुक्त नभएपछि यो पटक इजरायल–प्यालेष्टिनी विद्रोहीसमूहबीच कतारमा वार्ता हुँदै गर्दा नेपालले कतारसँग विपिनलाई छाड्नका लागि पहल गरिदिन आग्रह गरेको थियो । 

परराष्ट्रमन्त्री आरजु राणाले गरेको आग्रहमा कतारले पहल गर्ने आश्वासन दिएको थियो । पहिलो चरणमा हमासले मुक्त गर्न लागेको ३३ जनाको सूचीमा भने विपिन परेका छैनन् । यद्यपि पहिलो चरणमा नपरे पनि ३ चरणको युद्धविरामको क्रममा विपिन रिहा हुने आशा नेपाल सरकारले गरेको छ । 

युद्धविराम सम्झौता कार्यान्वयनको निगरानीका लागि इजिप्ट, अमेरिका, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त समिति गठन गरिएको छ । इजरायल–गाजा युद्धविरामसँगै प्यालेष्टाइनबाट विस्थापित भएका नागरिकहरु आफ्नो घर फर्किन थालेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update