झापा । पूर्वको मुख्य नाका काँकरभिट्टामा भारतीय बजारबाट किनमेल गरेर ल्याइएको सामानहरुमा अनिवार्य भन्सार महशुल लिने व्यवस्था कार्यन्वयन फितलो देखिएको छ । सरकारले २०८० साल साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको थियो । तर, मेची भन्सार कार्यालय काँकरभिट्टामा भने उक्त नियम कार्यन्वयन प्रभावकारी हुँन सकिरहेको छैन ।
काँकरभिट्टा नाकाबाट मात्रै घरायसी प्रयोजनका लागि भारतीय सीमावर्ती बजारबाट दैनिक लाखौं रुपैंयाको सामान सर्वसाधारणले ल्याउने गरेका छन् ।
नाकामा कडाई नहुंदा भन्सारको राजश्व समेत गुम्दै गएको छ । भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार महशुल लिने व्यवस्थामा कडाइ नहुंदा मेची भन्सारको राजश्व समेत गुम्दै गएको हो । नाकामा कडाई नहुँदा सिमा पारीका बजारहरु गुल्जार हुँदा यता नेपालका सिमावर्ती बजारहरु भने दिन प्रतिदिन सुस्ताउँदै गइरहेको व्यवसायीहरुको दुखेसो छ ।
राज्यको राजस्व संकलन तथा नेपालीे व्यापार व्यवसाय बचाउन पनि कानुन बमोजिम नाकामा कडाई गरिनुपर्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाई बताउँछन् ।
भारतसँगको खुला सीमा नाकाका कारण भारतीय बजार पानीटंकी, सिलगुडी, नक्सलबारीमा पुगेर किनमेल गर्नेको सङ्ख्या बढ्दो छ ।
मेची भन्सार कार्यालयले उपलब्ध गराएको गत आर्थिक बर्ष २०८०÷१ को साउनदेखि मंसिर महिना सम्म भन्सार नाकामा कडाइ गर्दा ७ हजार १३७ भन्सार कार्यालयको यात्रु शाखामा प्रज्ञापनपत्र उपभोक्ताका लागि काटिएको तथ्याङ्क छ । सो अवधिमा ६६ लाख ६६ हजार राजश्व संकलन भएको छ । अहिले चालु आवको साउनदेखि मंसिर सम्म गत आवको भन्दा ह्वात्तै सो संख्या घटेको छ । सो अवधिमा ५ हजार ७१७ प्रज्ञापनपत्र कांटिदा ६१ लख ९४ हजार राजश्व संकलन भएको छ ।
भन्सार कार्यालयमा कार्यरत कर्मचारीले राजस्व चुहावट नियन्त्रणमा तदारुकता नदेखाउदा नेपाली व्यवसायी मर्कामा परिरहेको गुनासो बढिरहेको छ भने नाकामा कमिसनको चक्कर त चलिरहेको छैन भन्ने शंका समेत थप बलियो बन्न पुगेको छ ।