News 24 Television
सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !     

काठमाडौं । प्रदूषित हावाले फोक्सो तथा श्वास प्रवास सम्बन्धित समस्या उत्पन्न गराउँछ भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, प्रदूषित हावाले मृगौला सम्बन्धित समस्या समेत उत्पन्न हुनेक्रम बढेको छ । अन्तर्राष्ट्रिय रुपमा गरिएका अनुसन्धानले दूषित हावाको कारण क्रोनिक किड्नी डिजिज्को जोखिम उच्च हुने देखिएको हो ।
 
रुघाखोकी,  दमखोकी, टाउको दुख्ने, पेट दुख्ने, लगायत  श्वास प्रश्वास सबन्धित समस्या प्रदूषित वायुले निम्ताउँछ भन्नेमा अधिकांश मानिस जानकार नै देखिन्छ । तर, वायु प्रदुषणले यी रोग मात्र नभएर  मिर्गौला सम्बन्धित रोग समेत लाग्ने जोखिम उतिकै हुने गर्दछ । अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीको जर्नलको प्रतिवेदन अनुसार वायु प्रदूषणले मृगौला रोगका रोगीको जोखिम बढाएको छ । 

यस अध्ययनले प्रदुषणका कारण करिब ४५ हजार क्रोनिक किड्नी डिजिज्का नयाँ केसहरु र चौबिस यस भन्दा बढि बिरामीले डायलासिस सुरु गरेको अध्ययनका क्रममा देखिएको थियो । 

वायु प्रदुषणले मिर्गौलामा पार्ने  विषयमा अध्ययन अनुसन्धान धेरै नभए पनि अन्तराष्ट्रियस्तरमा गरिएका केहि अनुसन्धानले वायु प्रदुषणले क्रोनिक किड्नी डिजिड्को जोखिम बढाएको विज्ञ औलाउँछन् । 

दुषित हावाका कारण विभिन्न स्वास्थ्य समस्या तथा यसले मिर्गाैलामा समेत असर पार्ने तथ्य बाहिर आइरहदाँ यसको थप अध्ययन तथा अनुसन्धान आवश्यक भएको विज्ञ बताउँछन् । साथै नेपालमा पनि पछिल्लो समय वायु प्रदुषण बढ्दो भएकाले वायुप्रदुषणले पार्ने असर मध्ये मिर्गाैला रोग पनि छ वा छैन भन्ने विषय अध्ययनको पाटो भएको विज्ञ बताउँछन् । 

मिर्गौलाले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट हटाउँने काम गर्दछ । साथै शरीरमा पानी अनि इलेक्ट्रोलाइट्सलाई ब्यालेन्स गर्ने, रक्तचापलाई ब्यालेन्स राख्ने, औषधिबाट आएका अनावश्यक तत्वलाई बाहिर निकाल्ने, रगतको कोष उत्पादनमा सहयोग गर्ने तत्व बनाउँने काम गर्दछ । तर विभिन्न कारणले मिर्गौलाले शरीरमा यी काम गर्न छोड्यो वा कम गर्न थाल्यो भने मिर्गौलामा खराबी आएको भन्ने बुझिन्छ । क्रोनिक किड्नी डिजिज् अर्थात मिर्गौला रोगको प्रमुख कारणहरुमा मधुमेह र उच्च रक्तचापलाई लिने गरिन्छ ।  

हावा अर्थात वायु बिना कुनै पनि प्राणी बाच्न नसक्दैन । तर पछिल्लो समय जीवन जिउँन आवश्यक हावा नै दुषित बन्दा स्वास्थ्यमा प्रतिकुल असर थप जटिल बन्दै गएको देखिन्छ । त्यसैले पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभरनैमा नै खस्कदो वायु प्रदुषलाई नियन्त्रण र रोकथाम नगर्ने हो भने यसले मानवजीवन धरासायी बनाउँने जोखिम छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update