कास्की । पोखरा पर्यटन परिषद्ले पोखरामा दाइँ महोत्सव आयोजना गरेको छ । पछिल्ला वर्षहरूमा धान रोपाइमा होस् वा दाइँ हाल्दा गोरुको प्रयोग हुन छोडिसक्यो, तर परम्परागत कृषि प्रणालीलाई पर्यटकीय आकर्षण बनाउनका साथै नयाँ पुस्तालाई देखाउनकै लागि दाइँ महोत्सव आयोजना गरिएको हो । जहाँ पर्यटक मस्त रमाएका देखिए भने विद्यार्थीहरू उत्साहित देखिन्थे ।
सामान्यतया कार्तिक–मंसिर महिनालाई धान थन्काउने महिनाका रुपमा लिने गरिन्छ । तर आधुनिक कृषि प्रणालीका कारण परम्परागत ढङ्गले हुने बालीनाली हराउँदै गएको छ ।
परम्परागत कृषि प्रणाली जोगाउँदै त्यसलाई पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने उद्देश्यले पोखराको पर्यटनका संघसंस्थाहरूको साझा संस्था पोखरा पर्यटन परिषद्ले यो पटकदेखि दाइँ महोत्सव पनि सुरुवात गरेको छ ।
धानबाली थन्काउने समयभन्दा केही हप्ता ढिलो महोत्सव गरिए पनि दाइँ महोत्सवमा पर्यटक एवं स्कुले विद्यार्थीहरू मज्जाले रमाएका छन् । धानको कुनियोलाई वैदिक विधिअनुसार पूजा गरेर सुरु गरिएको दाइँमा एक दर्जन गोरुको प्रयोग भएको थियो । पछिल्ला वर्षहरूमा गोरुको प्रयोगबाट हुने दाइँ प्राय शून्य छ पोखरामा । निरन्तर १९ वर्षदेखि रोपाई महोत्सव आयोजना गर्दै आएको परिषद्ले पहिलोपटक आयोजना गरेको दाइँ महोत्सवमा सहभागी हुन पाउँदा विदेशी पर्यटक एवं विद्यार्थीहरू निकै उत्साहित थिए ।
हुन त, धान रोपाइँ र दाइँ हाल्ने काम नेपाल जस्तो कृषिप्रधान देशमा नियमित कार्य हो तर कृषिमा बढ्दो आधुनिकीकरणले परम्परागत कृषि खेती त्यसको संरक्षण र प्रवर्धनका निम्ति यस्ता महोत्सव हुनुपर्ने र यसले पर्यटकको अफ–सिजनलाई थोरै भएपनि टेवा पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तरनाथ पहाडीको भनाइ छ ।
बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आईरहेको छ ।
पोखराका समथर फाँटहरू जेठो–बुढो धानका लागि निकै उर्वर भूमि मानिन्छ तर बढ्दो बजारीकरण र प्लटिङका कारणले जेठो बुढो उत्पादन हुने क्षेत्र मासिँदै गएको र परम्परागत कृषि पनि हराउँदै गएकोमा कृषकहरू पनि चिन्ता व्यक्त गर्छन् ।
कृषिमा आधुनिकीकरण अपरिहार्य छ तर त्यसो भन्दैमा परम्परादेखि चल्दै आएको परम्परागत कृषि प्रणालीलाई पनि जोगाउनु अपरिहार्य देखिन्छ किनभने पोखरा जस्तो पर्यटकीय गन्तव्यहरूमा परम्परागत कृषि प्रणाली आफैमा एउटा पर्यटकीय आकर्षणहरू हुन् ।